काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तीन वटा मोड्युलर पुल उपलब्ध गराएको छ।
भारतले सहयोगस्वरूप उपलब्ध गराएका ७०–७० मिटर लम्बाइका तीन वटा एकतर्फी मोड्युलर पुल शनिबार सडक डिभिजन कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले पुल हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक र पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप ती पुल उपलब्ध गराएको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
क्षतिग्रस्त पुलका कारण लामो समयसम्म सडक सम्पर्क अवरुद्ध हुन नदिन सरकारले अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त तीन वटा पुल आवश्यकता र प्राथमिकताका आधारमा बाढी प्रभावित क्षेत्रमा जडान गरिने जनाइएको छ।
मोड्युलर पुलका संरचना एकापसमा जोडेर छोटो समयमै सञ्चालनमा ल्याउन सकिन्छ। यस्ता पुल बाढी, पहिरोलगायत विपद्का समयमा अस्थायी रूपमा सडक सम्पर्क कायम गर्न प्रयोग गरिन्छ। आवश्यकताअनुसार एक स्थानबाट अर्को स्थानमा सारेर पुनः प्रयोग गर्नसमेत सकिने बताइएको छ।










Discussion about this post