नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले ‘एक्रोब्रिज’ जडानको काम अन्तिम चरणमा पुर्याएको छ।
सडक विभागको सहयोगमा नेपाली सेनाको ५५ जनाभन्दा बढीको टोली पुल निर्माणमा खटिएको छ। निर्माणाधीन पुलले देवीघाटलाई बेलकोटगढी नगरपालिका–८ जिलिङसँग जोड्नेछ।
भोटेकोशी नदीमा आएको बाढीको बहाव तादी नदीमा प्रवेश गर्दा देवीघाट क्षेत्रमा रहेका दुईवटा पक्की पुलमा क्षति पुगेपछि बेलकोटगढी हुँदै धादिङतर्फको यातायात सम्पर्क प्रभावित भएको थियो। यातायात सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले नेपाली सेनाले अस्थायी प्रकृतिको एक्रोब्रिज निर्माण गरिरहेको हो।
निर्माण सम्पन्न भएपछि पुलले ७० टनसम्म भारवहन गर्न सक्ने बताइएको छ। पुल सञ्चालनमा आएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत सहज हुनुका साथै धादिङतर्फको यातायात सम्पर्कसमेत पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित स्थानीयवासी र यातायात व्यवसायीलाई पुल सञ्चालनपछि ठूलो राहत पुग्ने विश्वास गरिएको छ।










Discussion about this post