कञ्चनपुर । गत भदौ २३ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका जेन्जी सहिदहरूको सम्झना तथा सम्मानमा आज जेन्जी सहिद दिवस मनाइएको छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।

जेन्जी सहिद दिवसको अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिका -७ सुडा चोकमा युवाहरू भेला भएर दीप प्रज्वलन गरेका हुन् । आन्दोलनका क्रममा ज्यान गुमाएका जेन्जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन गर्नुका साथै सहभागीहरूले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । भ्रष्टाचार, सुशासन र सामाजिक न्यायलगायतका विषय उठाउँदै युवाहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा ४५ जना युवाले ज्यान गुमाएका थिए ।

सहिद दिवसका अवसरमा सुडा चोकमा भेला भएका युवाहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको बलिदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । दीप प्रज्वलनपछि केही समय मौन धारण गर्दै सहिदहरूको योगदान र बलिदानको सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी युवाहरूले जेन्जी आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन् । सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी उनीहरूले उठाएका सवाल र अपेक्षालाई व्यवहारमा सम्बोधन गर्नुपर्नेमा युवाहरूले जोड दिएका छन् ।
सुडा चोकमा दीप प्रज्वलनसँगै जेन्जी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहभागीहरूले सहिदहरूको बलिदानको सम्मान र स्मरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।









Discussion about this post