महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा सुदूरपश्चिमको मौलिक पर्व गौरा तथा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरी मनाइएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गौरा नाच, कृष्णसम्बन्धी कथा तथा प्रस्तुति, चित्रकला र मटका फोड्ने खेल लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने नृत्य तथा प्रस्तुति दिएका थिए। त्यस्तै, कृष्ण जन्माष्टमीका अवसरमा भगवान् श्रीकृष्णसँग सम्बन्धित कथा तथा विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। मटका फोड्ने खेलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले अध्ययनसँगै विद्यार्थीलाई कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा सहयोग पुर्याउँछ।
विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।











Discussion about this post