प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार जनविश्वास गुमाउँदै गएको आरोप लगाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार विदेश नीति, सुकुमवासी व्यवस्थापन, मल तथा एलपी ग्यास आपूर्तिलगायतका क्षेत्रमा असफल भएको दाबी गर्दै सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे।
उनले सुकुमवासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै वास्तविक भूमिहीनलाई न्याय दिलाउन, सार्वजनिक जग्गाको संरक्षण गर्न र दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरे।
प्रवक्ता चालिसेले सरकारको निजी क्षेत्रप्रतिको व्यवहारका कारण अर्थतन्त्र थप संकटतर्फ उन्मुख भइरहेको आरोप पनि लगाए। प्रमाणबिना छापा मार्ने प्रवृत्तिले लगानीको वातावरण बिग्रिएको र निजी क्षेत्र त्रसित बनेको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसलाई क्षमायोग्य मान्न नसकिने बताए। साथै, एलपी ग्यासको आपूर्ति, भण्डारण र वितरण प्रणाली प्रभावकारी बनाउन नसक्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको आरोप पनि लगाए।
चालिसेका अनुसार सरकारले सुकुमवासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा कुनै ठोस प्रगति देखिएको छैन। भूमिहीन नागरिक अझै भूमिहीनकै अवस्थामा रहेको, सार्वजनिक जग्गा असुरक्षित बन्दै गएको तथा सरकार भाषणमा मात्र सीमित भएको उनको भनाइ थियो।
उनले मुलुकको अर्थतन्त्र कमजोर लगानी, बढ्दो बेरोजगारी र आर्थिक मन्दीको चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका विषयमा सरकार गम्भीर भएर तत्काल समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।










Discussion about this post