अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई नियामक संस्थामा मात्र सीमित नराखी मुलुकको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले राष्ट्र बैंकले नियमनसँगै आर्थिक विकास र सुधारको प्रक्रियामा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले छलफल औपचारिकतामा सीमित नरहने भन्दै उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने बताए। आवश्यक परे संयुक्त कार्यदल गठन, नीतिगत समन्वयलाई संस्थागत गर्ने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाइने उनको भनाइ थियो।
उनले हाल मुलुकमा आर्थिक सुधारका लागि अनुकूल वातावरण बनेको उल्लेख गर्दै सुधारप्रति राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्व र निजी क्षेत्रको तयारीलाई प्रभावकारी रूपमा उपयोग गर्न राज्यका सबै निकाय एउटै उद्देश्य र गतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेका आर्थिक सुधार सफल बनाउन राष्ट्र बैंकले आवश्यक नीतिगत सुझाव दिन आग्रह गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारी सिर्जनामा कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध निर्माण, मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय तथा डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउने उपायबारे पनि सुझाव मागे।
नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नभई उत्पादनशील आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु हुनुपर्ने उल्लेख गर्दै उनले नेपालको नियामक प्रणालीले नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेको छ वा अवरोध गरिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।
उनले ‘यो सम्भव छैन’ भन्ने सोच त्यागेर ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ’ भन्ने दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुलुकलाई अहिले सबैभन्दा बढी आवश्यक नीतिगत आत्मविश्वास रहेको बताए।
अर्थमन्त्री वाग्लेका अनुसार सरकार आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्र बनाइरहेको छ। अब मौद्रिक नीतिको पक्षबाट पनि समान गति, स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको उनले उल्लेख गरे।










Discussion about this post