पाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा एमबीबीएस, नर्सिङसहित चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा प्रभावित भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग लामो समयदेखि पदाधिकारीविहीन रहेकाले शैक्षिक क्यालेन्डरअनुसार हुनुपर्ने कामहरू ठप्प भएको बताए। उनका अनुसार आयोगले साउनको पहिलो साताभित्रै एमबीबीएससहित १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने भए पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन।
सरकारले अध्यादेशमार्फत आयोगका पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ निर्देशक नियुक्ति हुन नसकेको उल्लेख गर्दै उनले निर्देशक अभावका कारण मेडिकल कलेजहरूको कोटा निर्धारणदेखि प्रवेश परीक्षा सञ्चालनसम्मका महत्त्वपूर्ण काम रोकिएको बताए।
सांसद मल्लले कक्षा १२ को नतिजा सार्वजनिक हुनु सकारात्मक भए पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निरन्तर धकेलिँदै जानु चिन्ताजनक रहेको टिप्पणी गरे। उनले करिब ६० हजार विद्यार्थी एक महिनादेखि प्रवेश परीक्षाको तयारीमा रहे पनि आवेदनसम्बन्धी सूचना नआउँदा विद्यार्थी र अभिभावक गम्भीर अन्योलमा परेको बताए।
यसैबीच, उनले सरकारको सेवा प्रवाहप्रति पनि असन्तुष्टि जनाउँदै राहदानी लिन नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्था, सरकारी सेवा सुस्त हुनु, बजारमा ग्यास र रासायनिक मलको अभाव तथा बढ्दो महँगीका कारण सर्वसाधारणले सास्ती खेपिरहेको बताएका छन्। उनले यी समस्याको शीघ्र समाधानका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे।










Discussion about this post