निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण संकुचित बन्दै गएको आरोप लगाएकी छन्।
ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि नयाँ सरकार गठन भएको १०० दिन बितिसक्दा सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन नआएको टिप्पणी गरिन्।
अध्यक्ष शर्माले पत्रकारहरूको सूचनामा पहुँच सीमित हुँदै गएको उल्लेख गर्दै सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारलाई जान नदिने अवस्था रहेको बताइन्। संसदीय समितिहरूमा समेत पत्रकारको सहज प्रवेश नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
उनले सरकारले आर्थिक माध्यमबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप पनि लगाइन्। सूचना माग्ने, सूचना प्राप्त गर्ने तथा तथ्य पुष्टि गरेर समाचार प्रकाशन–प्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरे पनि सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ।










Discussion about this post