नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोली सहभागी भएका थिए।

प्रतियोगितामा शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ। त्यस्तै नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता र एस कलेजको ‘एएसडी’ टोली तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता टोलीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन्।
ह्याकाथनको उद्देश्य बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटक सुरक्षालाई प्रविधिमार्फत प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ। सहभागी टोलीहरूले पर्यटक सुरक्षासम्बन्धी नवीन प्रविधिमैत्री मोबाइल एप तथा डिजिटल समाधान प्रस्तुत गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले नेपालमा पर्यटकहरूले भोग्ने सुरक्षा चुनौती समाधान गर्न प्रविधिमा आधारित समाधान आवश्यक रहेको उल्लेख गर्दै उत्कृष्ट अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी ले पर्यटकहरूको सुरक्षा, सूचना अभाव तथा बेपत्ता हुने समस्यालाई न्यूनीकरण गर्न यस्ता नवप्रवर्तनात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी ले विद्यार्थीहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न प्रदेश सरकारसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यसले पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रस्तुत गरेका डिजिटल समाधानलाई निर्णायकहरूले समेत प्रशंसा गरेका थिए।










Discussion about this post