नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधान गर्दै पार्टी एकता सुदृढ बनाउन संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डा. शेखर कोइराला समूहलाई सात बुँदे सहमति प्रस्ताव पठाएको छ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य नेताहरूलाई गगन थापा पक्षले पठाएको प्रस्तावमा पार्टी विधानको दफा १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक तथा सर्वोच्च अदालतको फैसलालगायत विषयलाई सबै पक्षले आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाइएको सात बुँदे सहमति प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनप्रति देउवा पक्षले असहमति जनाउँदै आएको छ।
यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यहरूलाई पुनः अवसर दिने निर्णय गरेको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले विविध कारणले समयमै नवीकरण तथा अद्यावधिक गर्न नसकेका सदस्यहरूले असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको हो।
समितिका अनुसार क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका सात लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २८ गतेसम्म छ लाख ८७ हजार ९३१ सदस्यको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। तर पूर्व सभापति शेरबहादुर देउवासहित केही शीर्ष नेताहरूले अझै सदस्यता अद्यावधिक नगरेको जनाइएको छ।
देउवा–कोइराला पक्षले गएको पुससम्म नवीकरण गरेका सबै सदस्यलाई आगामी महाधिवेशनमा सहभागी गराउनुपर्ने अडान कायम राखेको छ। साथै, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणका कामले कांग्रेसको १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय पनि गरिएको छ।










Discussion about this post