कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको आगामी प्रथम प्रदेश अधिवेशनका लागि चुनावी सरगर्मी बढेसँगै नेतृत्वको दौड पनि रोचक बनेको छ। यसै क्रममा रास्वपा सहकारी विभाग सुदूरपश्चिम प्रदेशका संस्थापक सभापति नरेन्द्र बहादुर चन्दले प्रदेश सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
“नयाँ सोच, नयाँ नेतृत्व, अब सुदूरपश्चिमको समृद्धि हाम्रो जिम्मेवारी” भन्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिनुभएका चन्दले सुदूरपश्चिममा रास्वपाको बलियो उपस्थिति र सङ्गठन विस्तारका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुभएको छ। उहाँले सुशासन, पारदर्शिता, सङ्गठन सुदृढीकरण, युवा सशक्तीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ।
उम्मेदवारी घोषणासँगै चन्दले सुदूरपश्चिमको समग्र विकासका लागि आफ्नो अवधारणा समेटिएको ‘१२ बुँदे विशेष प्रतिबद्धता पत्र’ समेत सार्वजनिक गर्नुभएको छ। उक्त प्रतिबद्धता पत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगसहितको ‘डिजिटल सुदूरपश्चिम’ निर्माण, महिला सशक्तीकरण, दिगो पर्यटन प्रवर्द्धन र पर्यावरणीय सन्तुलनका लागि वातावरण संरक्षण जस्ता जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठान गरिएको छ।
चन्दले सुदूरपश्चिम प्रदेशको चौतर्फी समृद्धि, सुशासनको प्रत्याभूति र आत्मनिर्भरताका लागि आफू र आफ्नो नेतृत्व सदैव कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।










Discussion about this post