काठमाडौँ – अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ। तर, आउँदो सोमबार पुनः अर्को प्रणाली सक्रिय हुने र हिजोजस्तै वर्षा गराउने मौसमविद्हरूले अनुमान गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार सोमबारदेखि फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्नेछ, जसका कारण देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने देखिएको छ।
हिजो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भएको थियो। मधेश र कोशी प्रदेशबाहेक अन्य क्षेत्रमा वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ। विशेषगरी पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली भागमा बाक्लो हिमपात भएको थियो। बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र हिमाली क्षेत्रमा हिमपात भएको पुष्टि गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकासहित तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
लामो समयको खडेरीपछि भएको हिउँदे वर्षासँगै किसानहरू उत्साहित भएका छन्।










Discussion about this post