बैतडी । आजको समयमा अधिकांश युवाहरू राजनीतिक दल दलिय राजनीतिका पछि लागिरहेका बेला बैतडीका युवा अमर बहादुर टेर भने आफ्नै मौलिक पहिचान, धर्म र संस्कृति संरक्षणको चुनौतीपूर्ण अभियानमा एक्लै होमिएका छन्।
‘स्वतन्त्र सनातनी परिवार’ ३३ महाअभियानका संयोजक समेत रहेका टेरले जिल्लाको धार्मिक गरिमा, पुरातात्विक सम्पदा र गौवंश संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। कुनै राजनीतिक शक्तिको ओत नलागी निस्वार्थ भावले समाज सुधारमा लागेका टेरको यो सक्रियतालाई जिल्लामा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
आईतबार बैतडीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संयोजक टेरले मन्दिर जस्तो पवित्र र साझा आस्थाको केन्द्रमा कार्यरत कर्मचारीहरू राजनीतिक दलमा सक्रिय हुनुले धार्मिक मर्यादा समाप्त पार्दै लगेको बताएका छन्।
संयोजक टेरका अनुसार, मन्दिरका कर्मचारीहरू कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र हुनुपर्ने र आगामी निर्वाचनमा मतदातालाई प्रभावित पार्ने काममा संलग्न हुन नहुने उनको मुख्य माग छ। उनले मन्दिरका कर्मचारीहरूलाई तत्काल राजनीतिमुक्त बनाएर धार्मिक क्षेत्रको पवित्रता कायम राख्न प्रशासनले आँट गर्नुपर्नेमा जोड दिएका छन्।
विकासका नाममा पौराणिक संरचनाहरूमा सिमेन्ट र बालुवाको जथाभावी प्रयोग गरी ऐतिहासिक मौलिकता नष्ट भइरहेकोमा संयोजक टेरले कडा आपत्ति जनाएका छन्। स्थानीय तहले गर्ने निर्माण कार्यहरू आधुनिक नभई प्राचीन कला र शैलीमा मात्र गरिनुपर्ने उनको भनाइ रहेको छ।
त्यस्तै राष्ट्रिय जनावर गाईलाई सडकमा बेवारिसे छोड्ने मालिकहरूको पहिचान गरी कारबाही गर्न र स्थानीय तहमार्फत अनिवार्य गाई गणना गरिनुपर्ने माग समेत उनले राखेका छन्। “म धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक्लै भए पनि लडिरहनेछु,” संयोजक टेरले भनेका छन्।











Discussion about this post