कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले निर्वाचित भएको तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। २०७९ सालको स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित रणबहादुर महरा नेतृत्वको नगरपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा भएका प्रगति विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
मेयर महराले तीन वर्षे कार्यकालमा जनतासँग गरिएका वाचा अनुरूप विकास निर्माणका कार्यहरू अगाडि बढेको बताए। उनले कतिपय योजना सम्पन्न भएको र कतिपय निरन्तर रूपमा अघि बढिरहेको जानकारी दिए। नगरको खानेपानी चक्रपथ योजना तीव्र गतिमा अघि बढिरहेको र नगरस्तरीय कभर्डहल निर्माण सम्पन्न भएको उनले बताए।

पालिकाले पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको जनाएको छ। नगरका १२ वटै वडामा सडक कालोपत्रे तथा स्तरोन्नति गरिएको छ। यस अवधिमा ३०० सडक बत्तीमा ११ वटा सोलार बत्ती जडान गरिएको छ भने सिँचाइका लागि ६६ वटा बोरिङ निर्माण गरिएको छ। दुई वटा मल्टिस्पान पुल निर्माण सम्पन्न भएका छन् भने नगर अस्पतालको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।
भूमि व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले ८६ जना किसानलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। वडा नम्बर १, २, ३, ९ र १२ मा ऐलानी जग्गा नापजाँच गरिएको छ।
सामाजिक विकासतर्फ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २५३ विपन्न परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ। योग भवन निर्माण गरिएको छ भने पर्यटकीय क्षेत्र मणिकाधाम बतासे झरनामा ३.५ किलोमिटर पदमार्ग निर्माण भएको छ।
कृषि क्षेत्रमा तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ। गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ भने ३ हजार ३ सय ३७ जना नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ। पशुपालन क्षेत्रमा निःशुल्क खोप र कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको छ भने छाडा पशुचौपाया व्यवस्थापनलाई निरन्तरता दिइएको छ।

नगरपालिकाले संस्थागत क्षमता विकासमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रदेशमै प्रथम भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ। न्याय समितिले पनि यस अवधिमा दर्ता भएका अधिकांश विवाद फछ्यौट गरेको छ।
रोजगारी सिर्जनामा पनि नगरपालिकाले काम गरेको छ। ७६५ युवालाई रोजगारी प्रदान गरिएको छ भने ८४ वटा नयाँ व्यवसाय दर्ता भएका छन्। कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी सामुदायिक विद्यालयका भवन निर्माण गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाका उपमेयर कमला पन्तले निर्वाचित भएदेखि नै निष्पक्ष रूपमा जनताको वृद्धि विकासका लागि काम गरेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरूप विकास निर्माणका योजनाहरू फछ्यौट गरिएको जानकारी दिए।
नयाँ संविधान निर्माणपछि दोस्रो स्थानीय सरकार गठन भएपछि शुक्लाफाँटा नगरपालिका तीन वर्षे कार्य उपलब्धि सार्वजनिक गर्ने कञ्चनपुरकै पहिलो स्थानीय तह बनेको छ।
Discussion about this post