कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विपद् जोखिम व्यवस्थापन र पूर्व तयारीलाई लिएर सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग एकदिने सचेतिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शुक्रबार आयोजित यो कार्यक्रमले विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको थियो।
भीमदत्त नगरपालिकाका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मी र सरोकारवालाहरूसँगको सहकार्य अपरिहार्य रहेको बताए। “विपद्को पूर्वतयारी, घटनाक्रमको समय र पुनर्स्थापनाको चरणमा सञ्चारकर्मीको जिम्मेवार भूमिकाले ठूलो परिवर्तन ल्याउन सक्छ,” उनले भने।
कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले सञ्चारमाध्यमको सूचनाप्रवाहले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। साथै कार्यक्रममा विपद् विशेषज्ञ हिमाल थापाले प्रस्तुत गरेको कार्यपत्रमा विपद्का बेला सही र तत्काल सूचना प्रवाहको आवश्यकतामाथि जोड दिइयो।
त्यसैगरी नगर उप प्रमुख नीलम लेखकले विपद् न्यूनीकरणका लागि नगरपालिकाले व्यापक तयारी गरेको जानकारी दिइन्। “हामीले जनशक्ति परिचालन, स्रोत–साधन व्यवस्थापन, पूर्वसूचना प्रणाली र उद्धार तथा राहतका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं,” उनले भनिन्, “विपद्का बेला मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै सञ्चारकर्मीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”
नगरपालिकाले विपद् व्यवस्थापनका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारसँग समन्वय गरी पूर्वतयारी, व्यवस्थापन र पुनर्निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा विपद् व्यवस्थापनमा सक्रिय विभिन्न संघ–संस्था, सरकारी निकाय र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
Discussion about this post