विश्वास कुनै सरल र एकरेखीय अवधारणा होइन; यो मानव चेतनाको गहिरो तहमा बास बस्ने, निरन्तर रूपान्तरित हुँदै जाने, बहुआयामिक सामाजिक संरचनाको मेरुदण्ड हो। मेरो व्यक्तिगत निजी बिचार मा विश्वास मानवीय अस्तित्वको आधारभूत कारक हो, जसले न केवल व्यक्ति र समाजबीचको अन्तर्सम्बन्धलाई नियन्त्रित गर्छ, तर सामाजिक संरचना, सांस्कृतिक निरन्तरता, र शक्ति व्यवस्थाको निर्माणमा समेत निर्णायक भूमिका निर्वाह गर्दछ। विश्वास शून्यमा आधारित हुँदैन; यसको उत्पत्ति ऐतिहासिक, वैचारिक र संस्थागत सन्दर्भहरूबाट हुन्छ। प्रत्येक समाजमा विश्वासले अनुशासन, स्थायित्व र पहिचानको सेतु निर्माण गर्छ, तर त्यही विश्वासले विद्रोह, अविश्वास र परिवर्तनको बीज पनि रोप्न सक्छ। यस लेखमा विश्वासको गतिशीलता अर्थात् त्यसको समयानुसार परिवर्तनशीलतालाई सांस्कृतिक संरचनाभित्र विश्लेषण गरिएको छ।
विश्वास केवल भावनात्मक तत्त्व होइन, यो समाजमा अन्तर्निहित शक्ति संरचनाहरूको सहायक पनि हो। सामाजिक संस्थाहरू जसमा धर्म, शिक्षा, परिवार, संचारमाध्यम र राज्य प्रमुख छन् विश्वास निर्माण गर्ने प्रमुख उपकरण हुन्। बौद्धिक जगतमा एन्थोनी गिडेन्स, पियरे बुरदिउ र मिशेल फूको जस्ता चिन्तकहरूले विश्वासलाई सामाजिक संरचना र सत्ता अभ्याससँग गहिरो रूपमा गाँसेका छन्। गिडेन्सको संरचनात्मक द्वैविधा सिद्धान्तले देखाउँछ कि व्यक्तिले सामाजिक संरचनालाई निर्माण पनि गर्छ र त्यसैमा सीमित पनि हुन्छ। यस अर्थमा विश्वास दोहोरो कार्य गर्छ यसले सामाजिक पुनरुत्पादनलाई सम्भव बनाउँछ र त्यसै सन्दर्भभित्र नवीनताको सम्भावना पनि बोकेको हुन्छ।
त्यसैले विश्वास एकतरफा होइन; यो द्वन्द्वात्मक छ। परिवारभित्रको अनुशासन, धर्ममा आधारित नैतिकता, कानूनी न्याय प्रणाली, वा शिक्षा संस्थामा स्थापित मूल्य यी सबैले विश्वासको सहायताले सामाजिक व्यवहारलाई नियन्त्रित गर्छन्। तर जब यो संरचना स्वयं विवादित, विभाजित वा अवैज्ञानिक हुन्छ, तब विश्वास विघटनको स्थितिमा जान्छ, जसलाई अविश्वासको संस्कृतिका रूपमा बुझ्न सकिन्छ। यही द्वन्द्व नै विश्वासको गतिशीलताको सूचक हो।
सांस्कृतिक संरचना र विश्वासको परम्परा–नवाचार द्वन्द्व
सांस्कृतिक संरचना परम्पराको निरन्तरता मात्र होइन; नवाचार, विमर्श र विवादको समुच्चय पनि हो। यो संरचना स्थायी हुँदैन; यो परिवर्तनशील, लचिलो र अनुकूलनशील हुन्छ। विश्वास यस संरचनामा केन्द्रीकृत तत्व हो, जसले सांस्कृतिक मूल्य, प्रतीक, संस्कार र व्यवहारलाई सहमति र स्वीकारोक्तिको माध्यम बनाउँछ। तर जब समाज सूचना क्रान्ति, वैज्ञानिक सोच, लोकतान्त्रिक आन्दोलन, वा लैंगिक सचेतनाजस्ता परिवर्तनको प्रक्रियाबाट गुज्रन्छ, त्यहाँ विश्वास पुनरावलोकन र पुनर्निर्माणको आवश्यकता उत्पन्न हुन्छ।
उदाहरणस्वरूप, नेपालको परम्परागत समाजमा जातीय विभाजनको शास्त्रीय विश्वास व्यापक थियो, जसले सांस्कृतिक पहिचान, विवाह, भोजन, रोजगारी आदिमा निर्णायक भूमिका खेल्थ्यो। तर पछिल्लो दशकमा उत्पन्न सामाजिक आन्दोलन, शिक्षाको प्रसार, संवैधानिक अधिकारको उदय र मानव अधिकारको सशक्त विमर्शले ती विश्वास संरचनाहरूलाई चुनौती दिएको छ। परिणामतः विश्वास अब पूर्वनिर्धारित होइन; यो आलोचना, मन्थन र पुनः निर्माणको प्रक्रियाभित्र प्रवेश गरिसकेको छ। यही प्रक्रिया विश्वासको गतिशीलता हो—जहाँ स्थायित्व र परिवर्तनको द्वन्द्व निरन्तर चलिरहन्छ।
विश्वास सामाजिक शक्ति संरचनाको उपकरण हो भन्ने तथ्यलाई अस्वीकार गर्न सकिन्न। प्रभुत्वशाली वर्गहरूले आफ्ना हितलाई संस्थागत गर्नका लागि विशेष प्रकारको विश्वास संरचना निर्माण गर्छन्। ग्राम्सीको सांस्कृतिक हेजेमोनीको सन्दर्भमा विश्वास एक किसिमको विचारधारात्मक अधिपत्य हो, जसले शोषित वर्गलाई आत्मैच्छिक रूपमा शोषण स्वीकार गर्न बाध्य बनाउँछ। यसरी विश्वास केवल आध्यात्मिक वा नैतिक विषय होइन, यो सामाजिक नियन्त्रणको सूक्ष्म तर प्रभावकारी संयन्त्र हो।
उदाहरणका लागि, महिलालाई सदा सहनशील, त्यागमयी र पतिव्रता बन्नुपर्ने विश्वासको सामाजिक निर्माणले पितृसत्तात्मक संरचना सुदृढ बनायो। त्यस्तै, ‘गुरु ब्रह्मा’ भन्ने विश्वासले शिक्षकलाई सर्वेसर्वा बनाउने शिक्षातन्त्रमा समावेश गर्यो, जसले शैक्षिक प्रणालीमा आलोचनात्मक चिन्तनको कमी गरायो। जातीय, धार्मिक र भाषिक विविधता भएको समाजमा विश्वास प्रणालीहरू विभाजनको स्रोत पनि बन्न सक्छन्। यसैले विश्वासको गतिशीलता भन्नाले केवल परिवर्तन होइन, त्यस परिवर्तनको राजनीतिक, आर्थिक र सामाजिक शक्तिको विश्लेषण पनि आवश्यक हुन्छ।
आजको उत्तर–आधुनिक सन्दर्भमा विश्वासको संरचना झन जटिल र विवादास्पद बन्दै गएको छ। सत्यको एकरूपता खण्डित भइसकेको अवस्थामा विश्वास अब परम्परागत स्रोतहरूमा सीमित छैन। इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (AI), र मेटाभर्स जस्ता नवीन प्रविधिहरूले विश्वास निर्माणका नयाँ माध्यम उत्पन्न गरेका छन्। सामाजिक सञ्जालमा “algorithmic trust” को अवधारणाले देखाउँछ कि अब व्यक्तिको विश्वास व्यक्तिगत अनुभवभन्दा बढी डाटा–चालित सिफारिस प्रणालीबाट निर्देशित हुन्छ। त्यसैले विश्वास अब जैविक वा आत्मिक अनुभूति मात्र होइन, डिजिटल संरचनाको फल पनि बनिसकेको छ।
यस परिवेशमा सांस्कृतिक संरचना स्वयं झन बहुरूपी, तरल र अनिश्चित बन्दै गएको छ। व्यक्तिगत पहिचानहरू स्थायी छैनन्; बहुपहिचान, बहुभाषिकता, लिङ्ग–तरलता जस्ता विमर्शहरूले सांस्कृतिक संरचना र विश्वास प्रणाली दुवैलाई निरन्तर प्रश्न गरिरहेका छन्। उत्तर–सत्य (post-truth) को युगमा विश्वास अब तथ्यमा आधारित हुँदैन, बरु भावनात्मक हृदयग्राही सन्देशहरूमा आधारित हुन्छ। यस्तो अवस्थामा विश्वासको गतिशीलता केवल वैचारिक वा दार्शनिक विषय नभई, मानव अस्तित्वको पुनः परिभाषाको विषय बन्न पुगेको छ।
अन्तः
विश्वासको गतिशीलता समाज र संस्कृति रूपान्तरणको एक मूल प्रेरक तत्त्व हो। यो परिवर्तनको एक मात्र स्रोत होइन, तर अवश्य पनि उत्प्रेरक शक्ति हो। जब विश्वास निष्क्रिय, अन्ध र प्रश्नहीन बन्छ, तब समाज स्थिरता त प्राप्त गर्छ तर प्रगतिशीलताको द्वार बन्द हुन्छ। तर जब विश्वास आलोचनात्मक, सजीव र बहस–उन्मुख हुन्छ, तब त्यो सृजनशील शक्ति बन्न पुग्छ। सांस्कृतिक संरचना यही द्वन्द्वात्मक गतिशीलता भित्रै साँचेको हुन्छ जहाँ विश्वास परिवर्तनको आधार पनि हो, चुनौती पनि।
सांस्कृतिक संरचनाको सुदृढीकरणका लागि विश्वासको गतिशीलतालाई स्वीकार गर्नु, त्यसलाई विवेकशील र समावेशी मार्गमा डोर्याउनु अत्यावश्यक छ। किनभने, जब विश्वास सत्ताका यन्त्रबाट स्वतन्त्र भएर सामूहिक चेतना र उत्तरदायित्वको स्रोत बन्छ, त्यहीँबाट नयाँ युगको आरम्भ हुन्छ जहाँ संस्कृति केवल परम्परा होइन, परिवर्तनको जीवन्त दस्तावेज बन्छ।
प्रकाश बहादुर चन्द
पञ्चेश्वर गा पा ०४ बैतडी