कञ्चनपुर । भीमदत्त नगरपालिकाले आफ्नो कला, संस्कृति र पहिचानको संरक्षण तथा लोपोन्मुख परम्परागत बाजाको पुनर्जागरणका लागि १५ दिने दमाहा बाजा तालिम सुरु गरेको छ । बिहीबार नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबिच तालिमको औपचारिक शुभारम्भ भएको हो ।
तालिममा परम्परागत दमाहा वादकहरूले प्रशिक्षण दिनेछन् भने स्थानीय दमाहा बजाउने समुदायका सदस्यहरू, साङ्गीतिक रुचि भएका युवा र संस्कृति प्रेमीहरू सहभागी छन् । पहिलो चरणमा १८ जनालाई तालिम प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख बोगटीले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आफ्नो प्राथमिकता भएको बताए । “पछिल्लो समय हामी आफ्नो कला र संस्कृति बिर्सिँदै गएका छौँ । दमाहा र पञ्चे बाजाको सट्टा बैन्ड बाजाप्रति समाज आकर्षित हुँदै गएको छ,” उनले भने, “यसलाई मध्यनजर गर्दै परम्परागत बाजाको संरक्षण र दलित तथा महिलाहरूको आर्थिक उन्नतिका लागि यो तालिम आयोजना गरिएको हो ।” उनले सीप सिकेपछि त्यसको बजारीकरणका लागि पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दमाहा बाजा नेपालको मौलिक वाद्य यन्त्रमध्ये एक भएको उल्लेख गर्दै यो विशेष गरी परम्परागत समारोह, जात्रा र सांस्कृतिक पर्वहरूमा सगुनको रूपमा प्रयोग हुने बताए । “आधुनिकताको प्रभावले यसको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम सञ्चालन गरिएको हो,” उनले भने ।
सामाजिक विकास समितिका संयोजक सुशील भट्टले तालिमले युवाहरूलाई दमाहा बनाउने र बजाउने सीप हस्तान्तरण गर्ने बताए । कार्यक्रमका सभापति तथा कार्यपालिका सदस्य हरिहर परियारले दमाहा बाजा परम्परा, संस्कार र पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा भएको बताउँदै नयाँ पुस्तामा यसप्रति चासो घट्दै गएकाले संरक्षण आवश्यक रहेको औँल्याए । “यो तालिमले नयाँ पुस्तालाई कला हस्तान्तरण गरी सांस्कृतिक धरोहर जोगाउन योगदान दिनेछ,” उनले भने ।
तालिममा सहभागीहरूले आफ्नो परम्परागत पेसा र बाजाको कला सिक्न पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद दिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, कार्यपालिका सदस्य गणेश आग्री, नगरपालिकाका कर्मचारी, प्रशिक्षक र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
यो तालिमले दमाहा बाजाको संरक्षणसँगै सांस्कृतिक जागरण र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









Discussion about this post