कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेसनल फाउन्डेसनले युकेजी कक्षामा अध्ययनरत विद्यार्थीहरूको दीक्षान्त समरोह भव्य रूपमा सम्पन्न गरेको छ। बुधवार आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो भने फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतको सभापतित्व रहेको थियो।

कार्यक्रममा ६० जना युकेजीका विद्यार्थीहरू दीक्षित भएका थिए। दीक्षान्त समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए भने बालबालिकाहरूले स्पीच प्रस्तुत गरेर उपस्थित सबैको मन जितेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सावित्री जोशीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका गोदावरी चन्दले गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले बालबालिकाको शिक्षाले समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “यी साना नानीहरूको उत्साह र प्रतिभा देखेर म निकै प्रभावित भएँ। शिक्षाको जग बलियो बनाउन यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्छन्।”

त्यसैगरी कार्यक्रमका सभापति डा. लक्ष्मण बस्नेतले फाउन्डेसनले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र होइन, जीवनोपयोगी सीप र संस्कार पनि सिकाउनु हो। यो दीक्षान्त समारोह हाम्रा बालबालिकाको पहिलो खुड्किलो हो।”

अभिभावक सुवास कुँवरले कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, “बालबालिकाहरूले यहाँबाट धेरै कुरा सिकेका छन्। उनीहरूको आत्मविश्वास र प्रस्तुति देखेर हामी अभिभावकहरू निकै खुसी छौँ।”

यो दीक्षान्त समारोहले विद्यार्थी, अभिभावक र शिक्षकहरूबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै बालबालिकाहरूको शैक्षिक यात्राको सुरुवातमा उत्साह थपेको छ।