कञ्चनपुर । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रसँगको सहयोगमा देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।
आगामी पुष तेस्रो सातादेखि एक साताका लागि भारतमा व्यापार पर्यटन महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सञ्चालन गर्न लागिएको बताए । अध्यक्ष जोशीले महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य सङ्घले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्झौता भइसकेको बताए । ‘हामीले मन्त्रालयसँग सम्झौता गरिसकेका छौँ, ‘उनले भने, ‘सम्झौता अनुरूप स्टलका लागि समेत तयारी अघि सारेका छौँ ।’ यस अघि वाणिज्य सङ्घले दुई पटक देहरादुनमा मेला लगाइसकेको छ ।
सन् २०१७ र २०१८ मा पहिलो र दोस्रो पटक मेला सञ्चालन गरिसकिएको र तेस्रो पटक ०२५ मा गर्न लागेको बुझिन्छ । वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र रावलको पालामा दुई पटक गरिएको र अहिले पिताम्बर जोशीको पालामा तेस्रो पटक मेला गर्न लागिएको छ ।
६ वर्षपछि हुन लागेको महोत्सवमा नेपाली बस्तु तथा सेवाका ५० भन्दा बढि स्टल रहने अध्यक्ष जोशीले बताए । ‘कोरोना महामारीदेखि विविध समस्याले हामीले यस बिचमा भारतमा मेला लगाउन सकेनौँ, ‘अध्यक्ष जोशीले भने, ‘अब फेरी सरकारसँग समन्वय गरेर मेला सञ्चालन गर्दैछौँ ।’ नेपाली बस्तु तथा सेवाको भारतीय बजारमा पु¥याउन, भारतसँगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यका साथ मेला सञ्चालन गर्न लागिएको बताए ।
एक सातासम्म सञ्चालन हुने मेलामा नेपाली उत्पादित बस्तुको प्रर्वद्धन गरिने छ । यसरी वाणिज्य सङ्घले सरकारसँगको साझेदारीमा आफ्ना नेपाली बस्तु बस्तुको अन्तर्राष्ट्रिय बजारीकरणका लागि गर्ने पहलबाट नेपालको व्यापारमा प्रर्वद्धन हुने अपेक्षा गरिएको छ ।