काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
यूएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार मध्यरातअघि फुजैराह इमिरेट्सको प्रवेशद्वारमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको ट्रकका चालकले नियन्त्रण गुमाउँदा अर्को ट्रकसँग ठोक्किएको र त्यसपछि दुवै ट्रक सडकबाट बाहिरिएर पार्किङमा रहेका अन्य सवारीसाधनमा ठोक्किएका थिए।
दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी कुल २३ वटा सवारीसाधन आपसमा ठोक्किएका थिए। ठक्करपछि ट्रकमा आगलागी भएको र आगो अन्य गाडीमा समेत फैलिएको समाचार संस्था अलजजिराले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा यूएईसहित विभिन्न देशका नागरिक रहेको बताइएको छ। मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ। घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन्।










Discussion about this post