काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीएको अन्ताल्यामा उहाँहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा महासचिव गुटेरेसप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो।
त्यस अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये नेपाल एक रहेको उल्लेख गर्दै विश्व शान्ति र स्थायित्वमा नेपालको योगदानको सराहना गर्नुभयो।
भेटमा भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माण, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा छलफल भएको थियो।
त्यसैगरी, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा विचार आदानप्रदान गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।










Discussion about this post