काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत ६ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ।
कार्यालयका अनुसार कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा भएको हो। बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य जारी रहेको गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका तथ्याङ्क तथा अङ्कगत असङ्गति सच्याउने काम भइरहेको छ। यस प्रक्रियामार्फत तथ्याङ्कको शुद्धता र विश्वसनीयता सुनिश्चित गरिनेछ।
आर्थिक गणनामा कुल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए। गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन भएको गणनाबाट सङ्कलित विवरणलाई व्यवस्थित र उपयोगी बनाउन विभिन्न चरणमा प्रशोधन भइरहेको कार्यालयले जनाएको छ।
प्रतिष्ठानको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताउनुभयो।
त्यस्तै, कागजी तथा डिजिटल फारामबाट सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर तथा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ। हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट भइसकेको उहाँले जानकारी दिनुभयो।
गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्थाका विवरण समेटिएका छन्।
आर्थिक गणनाको प्रतिवेदन तयार भएपछि देशको आर्थिक अवस्था, लगानीबाट सिर्जना हुने रोजगारी, वस्तु उत्पादन तथा समग्र अर्थतन्त्रमा पर्ने प्रभाव विश्लेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post