डिल्लीराज पन्त, कञ्चनपुर । कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै संरचना नभत्काए आन्दोलनको चेतावनी दिएका छन् । भीमदत्त नगरपालिका मातहत आएको नगर विकास समितिको जमिन केही व्यक्तिले संस्थाको नाममा लिएर रजाई गरिरहेको भन्दै सबै अवैध संरचना भत्काएर सरकारी जमिन खाली गर्नुपर्ने बताएका छन् ।
‘सरकारी जमिनमा अवैध घर बनाउन बजेट ल्याउने सांसद मन्त्रीदेखि निकासा गर्ने कर्मचारीमाथि कारबाही गर्नुपर्ने बताएका छन्, यस्तो कार्य भ्रष्टाचारजन्य पनि भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका भ्रष्टाचारविरुद्धमा कार्यरत सरकारी निकायले समेत छानबिन अघि बढाएर कारबाही गर्नुपर्ने बताए । नागरिकले आफ्नै घर आफ्नै कमाईबाट बनाउँदा सरकारी निकायमा लालपुर्जा पेश गर्नुपर्ने अनि सरकारी जमिन अतिक्रमण गरेर लाखौँ, करोडौँ रकम ल्याएर अवैध संरचना बनाउँदा उनीहरूको लालपुर्जा किन मागिएन यो त संस्थागतको पनि महाभ्रष्टाचार भएको विद्यार्थी युवाको ठहर छ ।
बुधबार युवा विद्यार्थीले जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा डेलिगेसन गर्दै आफू निकट व्यक्तिका जोगाउने अरुका भत्काउने भन्दै सबै अवैध संरचना भत्काएर सरकारी जमिन संरक्षणमा जोड दिएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता सुरेश भट्टले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल र भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई भेटेर सरकारको लगानी भएका भवन नभत्काउने बहानाबाजी गरेर अतिक्रमणलाई संरक्षण गर्न नहुने चेतावनी दिएका छन् ।
उनले सरकारी सबै अवैध संरचना भत्काएर सरकारी सम्पत्ति संरक्षणमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता सिके भट्टले भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीलाई टेलिफोन नै गरेर सरकारी लगानी भनेर अवैध संरचना संरक्षण गर्न नहुने बताए । ‘नेपाल सरकारले लगानी वैध संरचनामा लगाउने हो, ‘उनले भने, ‘कुनै सांसद, मन्त्रीको पहलमा आएको बजेटमा बनेको संरचना भनेर पन्छिन हुँदैन ।’ सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी गर्ने निकाय व्यक्तिमाथि पनि छानबिन गर्नुपर्ने माओवादी नेता भट्टको भनाई छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले सार्वजनिक जमिन संरक्षणको दायित्व प्रशासन र पालिकाहरूको भएकाले उनीहरूले आ–आफ्नो क्षेत्रमा रहेका अवैध संरचना खालीदेखि सरकारी जमिन संरक्षण गर्ने निर्णय गरेका छन् । सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी भन्दै बहानाबाजी गरेर दोहोरो जनतामाथि घात भएको आन्दोलनमा उत्रिएका युवा विद्यार्थीको भनाई छ ।
भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढ्ने बताउँदै नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना खाली गराउन विभेद नगरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारी अतिक्रमित जमिन खाली गराउने बताए ।