महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीकी सोरा चन्दले समाज कल्याण अञ्चल अनाथालयका बालबालिकालाई भाई टिका लगाएकी छन् । आइतबार विहान आमा, बुवा र भाई र आफन्तका साथ अनाथालय आएर भाई टिका लगाएकी हुन् ।
८ वर्षिया चन्द तीन वर्षदेखि अनाथालयका भाई टिका लगाउँदै आएकी छन् । तिहार भाई टिका बाहेक उनले बालबालिकालाई रक्षा बन्धन बाँध्ने गरेकी छन् । यस वर्ष पनि उनले अनाथालयमा भाई टिकालाई निरन्तरता दिएकी छन् ।
तिहारमा अनाथालय आएर आफ्नो घरमा जसरी दाजु भाईलाई टिका लगाउने गरेको चन्दले बताइन् । ‘ म घरमा जसरी दाई भाईलाई टिका लगाउँछु, त्यसरी नै यहाँ आएर पनि टिका लगाउँछु’ उनले भनिन्,‘यसले मलाई रमाइलो हुन्छ ।’
गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा उनी कक्षा ५ मा अध्ययनरत छिन् । अनाथालयमा भाई टिका लगाउँदा उनका सहोरद भाई कोहिनुर चन्द उनीसंगै थिए । अनाथालयबाट घर फर्केपछि भाईलाई टिका लगाउने उनले बताइन् ।
आमा बुवाबाट प्रेरणा लिएर आफू अनाथालयबाट भाई टिका र रक्षा बन्धन मनाउँदै आएको चन्दले बताइन् । ‘यो कुरा मैले मम्मी डेडीबाट सिकेको हुँ, यसमा दुबै जनाको पे्ररणा पाएकी छु’ उनले भनिन् ।
उनका बुवा डा. हिरा चन्द(डायमण्ड) अनाथालयका उपाध्यक्ष छन् । आमा सुना चन्द गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकडेमीका शिक्षण गर्छिन् । डा. चन्द डायमण्ड पब्लिक एकडेमीका संस्थापक एबम् प्रिन्सिपल हुन् ।
शिक्षण सेवासंगै समाज सेवामा सक्रिय उनी निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को केन्द्रीय सल्लाहकार छन् । अनाथालयमा उपाध्यक्ष अघि उनी सचिव थिए ।
छोरीले अनाथालयमा आएर भाई टिका र रक्षा बन्धन बनाउँदा आफूलाई खुसी लागेको चन्दले बताए । ‘तिहार र रक्षा बन्धनमा दिदी बहिनीको कमी महसुस नहोस भनेर छोरीले तीन वर्षदेखि भाई टिका र रक्षा बन्धन मनाउँदै आएकी छ, यसले म मेरो परिवार सबैलाई खुसी लागेको छ’ उनले भने ।
सोराले ५ वर्षको उमेरमा अनाथालयमा भाई टिका र रक्षा बन्धन मनाउन थालेकी हुन् । डा. चन्द दम्पत्ति सहित उनका आफन्त बर्सेनी भाई टिका र रक्षा बन्धनका दिन अनाथालय आउने गरेका छन् ।
सोराले अनाथालयमा सन्तोस अधिकारी, रमेश रावत, रोहित थापा, हरिश धामी र मदन धामीलाई टिका लगाएकी हुन् । अनाथालयका अन्य बालबालिका तिहार मनाउन आफन्तको घरमा गएको अनाथालयका कार्यालय प्रमुख दिवाकर भट्टले बताए । कार्यालय प्रमुख भट्टका अनुसार अनाथालयमा २५ जना बालबालिका छन् ।
सोराले भाई टिका लगाएपछि डा. चन्दकी सहोदर दिदी जनतरा चन्द मल्लले खिर खुवाएकी छन् । उनीहरुले अनाथालयमा मिठाई समेत वितरण गरेका छन् ।
भाई टिका लगाएपछि चन्दले मिडियासित आफ्नो भनाई राखिन् । डायमण्डमा कक्षा ५ मा अध्ययनरत उनी पढाईमा पनि अब्बल छन् ।
सोराले कक्षा १ देखि ५ सम्म स्कुल टप गरेकी छन् । नर्सरीदेखि डायमण्डमा अध्ययनरत उनी कलाकारित र स्पिच मन पराउँछिन् । भविष्यमा कलाकार (आर्टिस्ट) बन्ने उनी बताउँछिन् ।
विद्यालय स्तरीय स्पिच र चित्रकलाकला दुई प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी छन् । स्पिपमा दोस्रो पटक र ड्रइङ्गमा पहिलो पटक प्रथम स्थान हासिल गरेकी हुन् । ‘ती दुबै प्रतियोगितामा प्रथम भएपछि मेडल पाएकी छु’ उनले भनिन्‘ स्पिचमा पहिलो पटक त खासै राम्रो गर्न सकेन ।’
वातावरण, विद्यालय, घर लगायतका विभिन्न चित्र बनाएको उनले बताइन् । अध्ययनमा रुची भएकी उनी नेपाली, विज्ञान पढ्न आफूलाई निकै राम्रो लाग्ने गरेको बताउँछन् । पढाईमा मिहिनेती र उत्कृष्ट अंक ल्याएपछि उनी कक्षा १ बाट ३ मा कक्षा स्तरोन्नति गरिएको हो ।
अनाथालयका कार्यालय प्रमुख भट्टले अनाथालयमा दाताहरुको सहयोगमा तिहार मनाई रहेको बताए । ‘दाताहरु आई राख्नु भाको छ, वहाँहरुसंगै तिहार मनाई रहेका छौ’ उनले भने ।
अनाथालयमा हाल २५ जना सबै केटाहरु मात्रै छन् । अनाथालयमा बसेर करन सिह धामीले केही दिन अघि बीबीए गरेका छन् । कञ्चन विद्या मन्दिरबाट बीबीएस गरेका उनी युरोप जाने तयारीमा छन् ।
अनालथयमा बसेर दुई जना कक्षा १२, ४ जना कक्षा १० र अन्यले त्यस भन्दा मुनिका कक्षामा पढ्दै आएका छन् ।
उनीहरुमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका छन् । कार्यालय प्रमुख भट्टका अनुसार उनीहरुमा केही बालबालिका मुगुका छन् ।