काठमाडौं । जलवायु परिवर्तन र प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’को सम्भावित प्रभावले सन् २०२७ मा नेपालमा कृषि, हिमाली जलचक्र तथा विपद् व्यवस्थापनमा चुनौती थपिन सक्ने वैज्ञानिकहरूले औँल्याएका छन्।
आउँदो वर्षको मनसुनबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने भए पनि मौसमी प्रणालीमा हुने उतारचढावले नेपालमा विभिन्न जोखिम निम्त्याउन सक्ने अनुमान गरिएको छ।
खाद्य सुरक्षा सूचना सञ्जालका अनुसार कम वर्षाका कारण कृषि उत्पादन घट्ने जोखिम छ। अर्कोतर्फ, छोटो समयमा अत्यधिक वर्षा हुँदा बाढी र पहिरोले बस्ती, खेतीयोग्य जमिन, सिँचाइ तथा जलविद्युत् आयोजनामा क्षति पुर्याउन सक्छ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिउँ र वर्षाको अनुपातमा परिवर्तन आउने तथा नदीको मौसमी बहाव असन्तुलित हुने जोखिम पनि बढेको छ। लामो समय खडेरी परेमा वन डढेलोको खतरा समेत बढ्न सक्ने देखिएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि मनसुन सुरु हुनुअघि नै पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ। तराईमा सिँचाइ तथा कृषि योजना सुदृढ बनाउने, पहाड र हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने तथा तीनै तहका सरकारबीच वैज्ञानिक तथ्याङ्क आदानप्रदान गरी एकीकृत विपद् प्रतिकार्य योजना लागू गर्न आवश्यक रहेको विज्ञहरूको सुझाव छ।










Discussion about this post