जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत नलिँदै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले यस्तो निर्णय लिएको बताइएको छ।
गत मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेशसभा सभामुख रामअशिष यादवले विश्वासको मत लिनका लागि समय दिएपछि रोस्ट्रममा पुगेका मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा भएका काम तथा उपलब्धिबारे जानकारी गराउँदै राजीनामाको घोषणा गरेका हुन्।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि विश्वासको मत पाउने सम्भावना कमजोर बनेसँगै उनले राजीनामा दिने निर्णय गरेका हुन्।










Discussion about this post