काठमाडौँ – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिबार राती आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा उक्त कीर्तिमान बनेको हो ।
उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा सर्वाधिक रन सोमपाल कामीले खर्चिएका थिए । सोमपालले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिएका थिए ।
सोमपालले २०२२ मा पपुवा न्युगिनीविरुद्ध टीयुमा ८१ रन खर्चेका थिए । करण केसीले २०२३ जुनमा वेष्टइण्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेका थिए । सन्दीप लामिछानेले २०२२ मा लिग २ मा युएईविरुद्ध ८० रन दिएका थिए । ओडीआई इतिहासमै भने एकै खेलमा सर्वाधिक रन नेदरल्यान्ड्सका बास डि लिडेले खर्चेका छन् । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै ११५ रन खर्चेका थिए ।
नेपाल अमेरिकासँग ३७ रनले पराजित भएकोछ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए । नेपालले मंगलबार अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।