कञ्चनपुर । विश्वव्यापी रुपमा भइरहेको मानव तस्करी विरुद्धमा नेपाल भारतका सरोकारवालाले प्रतिबद्धता जाहेर गरेका छन् । मानव बेचबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएका दुवै देशका सरोकारवालाले मानव तस्करी रोकथामका लागि प्रतिबद्धता जाहेर गरेका हुन् ।
आरबिसी ट्रस्ट दिल्ली र रिड टनकपुरले भारतको चम्पावतमा गरेको सरोकारवाला सँगको बैठकमा सहभागि नेपाल भारतका सरोकारवाला एकमत भएका छन् । विश्वव्यापी रुपमा देखिएको मानव तस्करी रोकथामका लागि एकल प्रयास भन्दा संयुक्त प्रयास आवश्यक रहेको समेत औँल्याएका छन् । संयुक्त प्रयासबाट मात्रै रोकथाम आवश्यक रहेकाले भावी दिनमा समेत नेपाल–भारतका अधिकारी, सरोकारवालाबीच समन्वय, छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
रिड संस्थाका प्रतिनिधि ईन्द्रेश लोहनीले नेपाल भारतमा अझैपनि मानव तस्करी नरोकिएको बताए । उनले पछिल्ला वर्षहरूमा मानव बेचबिखन न्यूनिकरण भएपनि पूर्ण नभएको बताए । भारतमा रिड सहितका सरोकारवालाले मानव बेचबिखन रोकथामका लागि प्रयास गरिरहेको बताए । ‘अहिले आफ्नैबाट समेत महिला, बालबालिका जोखिममा परेका छन्, ‘उनले भने, ‘मानव बेचबिखन रोकथामका लागि दुवै देशका सरोकारवाला थप चनाखो बन्नुपर्छ ।’
उनले ठूला बसदेखि, मजदुरी, रोजगारीको बहानामा बेचबिखन भइरहेको बताए । उनले गरिबीका कारण पनि अवैध मानव तस्करी भइरहेकाले सचेतना आवश्यक रहेको बताए । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला वर्षहरूमा मानव तस्करीको ट्रेण्ड परिर्वतन भएको बताए । उनले गरिबीदेखि समाजिक सञ्जाल, रोजगारीको प्रलोभन देखाउने अनेकन बहानाबाजी गरेर अभिभावकबाटै तस्करीको जोखिम बढेको बताए ।
‘मानव तस्कर समुहले बालिका, किशोरी महिलाको अभिभावकलाई कन्भेन्स गर्छन, ‘उनले भनिन, ‘स्वयम् अभिभावकलाई समेत आफ्नै सन्तान बेचबिखनको जोखिम थाहै हुँदैन, यस्तो अवस्थामा रोकथामदेखि उद्धारमा जोखिम हुन्छ ।’ नेपालबाट भारतका कोटिहरुमा बेचिएकी महिलाको उद्धारका लागि भारतीय प्रहरी सहितका सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन ।
लामो समयदेखि भारतका विभिन्न शहरबाट जोखिममा परेका महिलाको उद्धार गरेकी माइती नेपालकी संयोजक भट्टले आगामी दिनमा समेत भारतीय पक्षबाट जोखिममा परेका महिलाको उद्धारमा सहयोग आवश्यक रहेको बताइन । उत्तराखण्ड प्रहरी एएचटियूका इन्चार्ज सई सुरेन्द्र कडायतले आफ्नै अभिभावकदेखि नातेदारबाटै महिला बेचबिखनको जोखिममा पर्दै आएको बताए । उनले आफूहरूले सकेजतिका रोकथाम गर्दै आएको र भावी दिनमा समेत रोकथाम गर्दै जाने बताए ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असई विशाल शर्माले मानव तस्कर समुहले नेपाल भारतमा समाजिक नेटवर्क बनाएर तस्करी गर्ने भएकाले उक्त नेटवर्क तोड्नुपर्ने बताउँदै आफूहरूले सीमा क्षेत्रमा मानव तस्करीमा प्रतिबद्ध रहेको बताए चम्पावतका जिल्ला अधिकारी नवनित पाण्डेले विगतदेखि दुवै देशका सरकारी एव गैर सरकारी निकाय मानव बेचबिखन रोकथामका लागि सकृय रहेकाले केही कम भएको बताए ।
‘प्रविधिबाट बालबालिका बचाउनुपर्छ, समाजका हरेक व्यक्ति यस विषयमा सचेत हुनुपर्छ, ‘उनले भने, ‘मानव बेचबिखन जस्तो जघन्य अपराधमा हामी दुवै देश प्रतिबद्धत हुन जरुरी छ ।’ मानव बेचबिखन रोकथामका लागि सीमादेखि गाँउस्तरसम्मै सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिए । उनले मानव बेचबिखन अपराध विरुद्धमा एकजुट भएर खटिए तस्कर समुह निरुत्साहित हुने बताए । सोमबार चम्पावतमा भएको उक्त कार्यक्रममा भारत र नेपालका सरोकारवालाको सहभागिता रहेको थियो ।