कञ्चनपुर – कञ्चनपुरका निर्माण व्यवसायीले दोस्रो दिनपनि अर्को सरकारी कार्यालयमा तालाबन्दी गरेका छन । निर्माण व्यवसायीले दोस्रो दिन बुधबार जनताको तटबन्ध कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका हुन । काम गरेको भुक्तानी नगरेका जिल्लाका सरकारी कार्यालयहरूमा निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको अगुवाईमा पहिलो दिन, महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय र दोस्रो दिन जनताको तटबन्ध कार्यालयमा निर्माण व्यवसायीहरूले तालाबन्दी गरेका छन् ।
निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी नदिएको भन्दै विरोध स्वरुप बुधबार तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले गत आर्थिक बर्ष ०८०-०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोलि भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक वर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैङ्कका राखेर सरकारको काम गर्दछन्, तर सरकारी कार्यालयले भुक्तानी दिदैँन ।’
अध्यक्ष भट्टले जनताको तटबन्ध कार्यालयले चरम लापरबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने सङ्घारमा पुगेको बताए । अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका अन्य कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन् । तालाबन्दीले जनताको तटबन्ध कार्यालयको कामकाज प्रभावित भएको छ ।
कञ्चनपुरका निर्माण व्यवसायी एवम् सङ्घका उपाध्यक्ष देब बहादुर चन्दले काम गरेर पनि भुक्तानी नपाउने विडम्बना भएको बताए । उनले समयमै भुक्तानी नगरेपछि दवाव र विरोध स्वरुप कार्यालयमा तालाबन्दी गरेको बताए । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार शंकर जोशी जेभीको ३ करोड र रतला उग्रतारा जेभीको १ करोड भुक्तानी बाँकी रहेको छ ।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका प्रमुख श्रीप्रशाद शाहले माथिबाट बजेट नदिँदा भुक्तानी गर्न नसकिएको बताए । माथिबाट बजेट नदिएपछि दुई निर्माण व्यवसायीको भुक्तानी दिन नसकिएको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६ करोड ९० लाख मात्रै आएको र गत वर्षकै भुक्तानी दिन ठिक्क हुनेछ ।










Discussion about this post