काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही स्थानबाहेक देशभरका वडामा नेतृत्व चयनको प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मङ्गलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सम्पन्न भएको जनाइएको छ। बाढीपहिरोबाट प्रभावित रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आजको पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन्। सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै, कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ।










Discussion about this post