काठमाडौं । रसुवाको भोटेकोशी करिडोरमा आएको बाढीले जलविद्युत्, बिमा र बैंकिङ क्षेत्रमा ठूलो आर्थिक दबाब सिर्जना गरेको छ। बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उत्पादन, आम्दानी र कर्जा असुली प्रभावित भएको हो।
बाढीका कारण करिब ४३१ मेगावाट विद्युत् उत्पादन क्षमता बन्द भएको र समग्र ऊर्जा प्रणालीमा करिब ७८३ मेगावाटसम्म असर पर्न सक्ने प्रारम्भिक अनुमान छ। निजी जलविद्युत् आयोजनाका संरचना, टनेल, इन्टेक तथा पहुँचमार्गमा समेत क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार बाढीपछि हालसम्म ५८३ वटा बिमा दाबी दर्ता भएका छन्। ती दाबीको कुल रकम करिब २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। क्षतिको विवरण संकलन तथा मूल्याङ्कन जारी रहेकाले यो रकम थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ।
बाढीको असर बैंकिङ क्षेत्रमा समेत परेको छ। नेपाल बैंकर्स संघका अनुसार प्रभावित क्षेत्रमा १२ बैंकका १६ शाखामध्ये १५ शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। करिब २ अर्ब ४३ करोड रुपैयाँ कर्जा जोखिममा परेको र २ हजार १२५ ऋणी प्रत्यक्ष प्रभावित भएका छन्।
बाढीले घर, होटल, पसल तथा परियोजनाका संरचना र कतिपय ऋणका धितोसमेत क्षतिग्रस्त बनाएकाले कर्जा असुली तथा पुनर्संरचनामा चुनौती थपिएको बैंकिङ क्षेत्रले जनाएको छ। जलविद्युत् आयोजना पुनः सञ्चालनमा ढिलाइ भए आम्दानीमा थप असर पर्न सक्ने देखिएको छ।










Discussion about this post