जान कुदेको छ मान्छे आउन कुदेको छ
कोहि गुमाउन कोहि कमाउन कुदेको छ
कसैले आन्दोलनलाई व्यवसाय बनाएर
मुलुकमा अराजकता मचाउन कुदेको छ
हाम्रो जवानी लुटेर शासक बनेको थियो
अब सम्पत्ति सन्तति लुकाउन कुदेको छ
जसलाई अझै पुगेको छैन शासन गरेर
अनेक हर्कत गर्दै सत्ता पाउन कुदेको छ
यस्ता पनि देखिन्छन् मान्छेहरू अचेल
निभाउछु भनेर झन जलाउन कुदेको छ
अरु जे जे भन्दछौ तिमी मान्न तयार छु
यो नभन्नु, कोहि देश बनाउन कुदेको छ