भाइटीकाको दिन भोलि बुधवार पश्चिमी वायुको सामान्य प्रभावले देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ’, मौसमविद् मानन्धरले भन्नुभयो ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाण्डौमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि त्यही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ । उज्यालो अनलाइन बाट साभार









Discussion about this post