काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका समयमा विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ।
उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
पर्वका समयमा विद्युत् प्रणाली सञ्चालन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो। बैठकमा विद्युत् आपूर्तिका लागि गरिएको तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल गरिएको थियो।
त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।
प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न प्राधिकरणले निर्देशन दिएको छ। उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
लक्ष्मीपूजाका दिन विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको विश्वास छ।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ। सम्भावित प्राविधिक समस्या समयमै पहिचान गरी समाधान गर्न आवश्यक जनशक्ति तथा व्यवस्थापकीय तयारीसमेत गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन अनुरोध गरिएको छ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।










Discussion about this post