धन्य छ
सुवास
तिम्रो भद्रता
तिम्रो शालीनता
तिम्रो विज्ञता
तिम्रो विवशता
स्मरणीय छ
वन्दनीय छ र रहिरहने छ
मेरो मन मस्तिष्कमा
तिमी
मेरो आस्थाका सुवास थियौ
तिम्रो मृत्युको खबरले
देश रोएको छ
आस्था गुमेको छ
शिर झुकेको छ
मन दुखेका छन्
माला चढाउनेहरूको लाम लागेको छ
जनताले सलाम ठोकेका छन्
असन्तुष्टि हुन सक्छन्
मतभेद हुन सक्छन्
तिमीसँग र तिम्रा अरुसँग पनि
मान्छेले क्रिश्चियन भने
तिमीले शालीग्राम पुज्छु भन्यौ
पिरो बोलेनौ
कहिले कसैसँग
नमिठो बोलेनौ
कतिले लाटो भन्थे
म तिम्रो वाक्पटुता सम्झिन्छु
कतिले भक्त भने होलान्
कतिले इमानदार सम्झिन्थे
जे सुकै होस्
आस्थाका केन्द्र थियौ
आदर्शका नायक थियौ
सभ्यताका प्रतीक थियौ
अनुशासनका पुजारी थियौ
इमान्दारिताका नमुना थियौ
आज
एउटा सुवास उडेको छ
एउटा दियो निभेको छ
एउटा आस्था डगमगाएको छ
एउटा अनुहार विलाएको छ
चढाएर एक अञ्जुली
श्रद्धाका फूलहरू
दुई थोपा आँसु सँगै
नचाही नचाही भन्नू परेको छ
अलविदा! सुवास,
हार्दिक श्रद्धा सुमन!!
✍️ धर्मानन्द भट्ट









Discussion about this post