मैले चौतारीमा पर्खेको छैन कुनै भरियालाई
न त जंगलमा पर्खेको छु कोही साथीलाई
बाटो / दोबाटो / चौबाटोमा कहिल्यै पर्खिएन बटुवालाई
प्रियतमलाई कतै पर्खेको सम्झना छैन
न त सम्झिन सकेको छु कुनै प्रतिक्षालय
खुट्टाले कहिल्यै पर्खेनन् गन्तव्यहरू
हातले पर्खिन मानेनन् कामलाई

हतार भएको पनि हैन
न त म अग्रिम नै हुँ
खै! किन हो ?
ढिलो हुनेले पनि पर्ख भन्यो
अग्रिम हुनेले पनि पर्ख भन्यो
केही नदिनेहरूले पर्ख भने
केही नल्याउनेहरूले पर्ख भने
कहिल्यै नआउनेहरूले पर्ख भने
नपर्खिने आदत हुँदा हुँदै
म आशा च्यापेर पर्खिने भैगएछु
देशले सधैँ पर्खिनु भन्यो
हरेशले सधैँ पर्खिरह्यो
सबै व्यवस्थाले पर्खन भने
मेरो अवस्थाले पर्खिरह्यो
सबै सत्ताले पर्खाए
मेरो शक्तिले पर्खिरह्यो
हिजोले पर्ख,पर्ख, पर्ख भनेपछि
आज पर्खिरह्यो, भोलि पर्खिरह्यो.... पर्खिरह्याे
मेरो भाग्यरेखा धितो राखेर
समृद्धि दिन्छौँ भनेर पर्खाए

मेरो हस्तरेखा लिलामी गरेर
रोजगार दिन्छौँ भनेर पर्खाए
मेरा खुट्टा छिनाएर
गन्तव्य देखाउँछौँ भनेर पर्खाए
मेरो पसिना बेचेर
नुन किनिदिन्छौँ भनेर पर्खाए
मेरो वर्तमान मागेर
भविष्य दिन्छौँ भनेर पर्खाए
मेरा ओठहरू झिकेर
मुस्कान ल्याइदिन्छौँ भनेर पर्खाए
मेरो पेट काटेर
गरिबी हटाउँछौँ भनेर पर्खाए
मेरा आँखा निकालेर
न्याय दिन्छौँ भनेर पर्खाए
मेरा कान काटेर
आफ्ना सुकर्म सुनाउँछौँ भनेर पर्खाए
मेरो औँठो मागेर
विकासको निधारमा छाप हान्छौँ भनेर पर्खाए
श्री ३ ले पर्खाए
श्री ५ ले पर्खाए
श्री ४२० ले पर्खाए
सबै सबैले सधैँ सधैँ पर्खिनु भनेपछि लाग्यो-
पर्खिनु भनेको केवल आशा थाम्नु मात्रै नरहेछ
पर्खिनु भनेको त व्याकुल हुनु रहेछ, अधैर्य बन्नु रहेछ
पर्खाउने आदतको चरमता पार गरेपछि
बल्ल स्वेच्छाले पर्खिने भएको छु,
आज म यो देशमा नाथूराम गोडसे पर्खिरहेको छु।
● प्रचण्ड भाष्कर
