एसीसी महिला इमर्जिङ टिम्स एसिया कप आजदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा अहिले श्रीलंकाको ‘ए’ टिम र यूएई बीच खेल भइरहेको छ। हङ्कङको रिक्रिएसन ग्राउण्डमा टस जितेर यूएई ब्याटिङ गरिरहेको छ। आजै दोस्रो खेलमा बंगलादेशको ‘ए’ टिम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले भोलि बिहान पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। राष्ट्रिय टिमकी प्रमुख बलर फातिमा सानाको नेतृत्वमा पाकिस्तानको ए टिमले प्रतिस्पर्धा गर्नेछ।

रुविना क्षेत्री कप्तानीमा रहेको नेपाली टोली यसअघि अघिल्लो साता मात्रै मलेसियाको सफल भ्रमण गरेर स्वदेश फर्किएको थियो। नेपालले मलेसियामा भएको पाँच खेलको टी–ट्वान्टी सिरिजमा ३–२ को जित दर्ता गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय ट्रफी जितेको थियो।
थाइल्याण्डले भिसा प्रक्रिया नमिलेको भन्दै नाम फिर्ता लिएपछि नेपालले सहभागिताको मौका पाएको हो।
नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टोली हङकङ छन्। समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन्। प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल १९ जुनमा हुनेछ। फाइनल २१ जुनमा हुनेछ। थाहा खबर बाट सभार









Discussion about this post