
सरकारले आधारभूत अस्पतालमा एकजना महिला तथा प्रसूति रोग विशेषज्ञ, एकजना एमडिजिपी चिकित्सक, कम्तिमा ३ जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्तिसहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरिएको आर्थिक वर्ष ०८०÷८१ का लागि नीति तथा कार्यक्रममा स्थानीय तहमा रहेका आधारभूत अस्पतालमा कम्तिमा तीनजना मेडिकल अधिकृत रहने, आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको, इसिजीलगायत डाइग्नोस्टिक उपकरण हुने उल्लेख गरिएको छ।

ती अस्पतालमा अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवाको प्रवाह हुने व्यवस्थासमेत सरकारले गर्ने बताइएको छ। हाल देशका सबै स्थानीय तहमा ५‚ १० र १५ बेडको आधारभूत अस्पताल निमार्णाधीन छन्। थाहा खबर बाट सभार
