बैतडी सदरमुकाममा खानेपानी चरम अभाव भएको छ । बैतडी साना शहरी खानेपानी आयोजनाले चारदिनमा मात्रै पानी वितरण गर्न थालेपछि समस्या भएको उपभोक्ताहरुले बताएका छन् । सदरमुकाम क्षेत्रमा खानेपानीको निकै अभाव रहेको स्थानीयहरुले बताएका छन् ।
जिल्लाको सदरमुकाम ४ स्थित गढी, गोठलापानी र शाहीलेकमा चार दिनमा मात्रै पानी वितरण गर्ने गरिएको छ । बैतडी साना सहरी खानेपानीको पाइपमा चुना जमेर पानी आपूर्तिमा समस्या आएको दाबी गरिएको छ ।
छ इन्च व्यास भएको पाइपभित्र चुना जम्दा पाइपको व्यास चार इन्चमा झर्दा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल दैनिक तीन लाख लिटर पानी आपूर्ति हुन थालेपछि चार दिनमा एक छाक पानी दिने गरिएको बैतडी साना शहरी खानेपानी योजनाका प्राविधिक पदम ठगुन्नाले बताए ।
चार दिनमा मात्रै पानी आपूर्ती हुन थालेपछि सदरमुकाम क्षेत्रमा डेरा गरी बस्ने र होटेल व्यवसायीहरु मारमा परेका छन् । पानीकै कारण होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको अपि गेष्ट हाउसका सञ्चालक वासुदेव भट्टले बताए । पानी जस्तो आधारभूत आवश्यकताको वस्तुलाई चार दिनमा दिन थालेपछि निकै समस्या भएको उनले बताए । उनले भने ‘पानीकै कारण व्यवसाय बन्द गर्नुपरेको छ । टाढाबाट पानी किनेर होटेल सञ्चालन गर्न सकिने अवस्था छैन् ।’
बैतडी साना शहरी खानेपानी आयोजनाले उपभोक्ताहरुसंग कुनै सल्लाह नगरी खानेपानीको आपूर्ती घटाएको आरोप लागेको छ । पानीको यति अभाव हुँदा समेत सरोकारवाला निकायहरुले कुनै ध्यान नदिएको स्थानीयहरुको गुनासो रहेको छ । सगुन खबर बाट सभार