निजी क्षेत्रको समस्या समाधान नगरी अर्थतन्त्रमा देखिएको ’स्ट्रेस’ कम गर्न सकिदैन : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको समस्या समाधान नगरी अर्थतन्त्रमा देखा परेका समस्य समाधान गर्न नसकिने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइ अर्थतन्त्रमा देखा परेको अहिलेको ’स्ट्रेस’ दबाब सामना गर्न नसकिने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ’निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेका अहिलेको ’स्ट्रेस’को सामाना गर्न सकिदैन भनेर अन्तरक्रिया सुरू गरेको छु। हामी बजेट र नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा जाँदैछौं। र मैले प्रधानमन्त्रीको जिम्मेवार लिएपछि नीजी क्षेत्रबाट विभिन्न सुझाव लिएको छु। समस्या समाधानका लागि सकारात्मक दिशा दिने प्रयास गरिरहेका छौं।’

प्रधानमन्त्री प्रचण्डले रूस युक्रेन युद्धको असर अर्थतन्त्रमा परेको बताए। अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार कटिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको र सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुने जिकिर गरे।
अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउन लागिएको जानकारी दिए।
विभिन्न संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए। अन्नपूर्ण पोस्ट बाट सभार
