
इतिहासकाे एउटा कालखण्ड
गाउँ-गाउँकाे सिंहदरबारबाट
सरकारी बजेटकाे सदुपयोग गरि
याेजना मुताबिक निर्मित
छाडा गाईबस्तु व्यवस्थापन केन्द्र
अर्थात् कागजका गाैशालाहरूमा
पशु स्वतन्त्रता खाेज्दै
गाईबस्तुहरूले पटक्कै
बस्न नमानेपछि जेलनेल ताेडेर
सडक, गल्ली र चाेकचाेकमा
बाँच्छा बाच्छीदेखि बुढा खाेसट
गाेरूहरू माैन नारा लगाउँदै
आन्दोलनरत छन् गाईहरूसँगै जुलुसमा
पछिपछि गर्वका साथ लाैराे ठटाउँदै
पुच्छर काटिएका, खुट्टा भाँचिएका
भाेकाप्यासा आन्दोलनकारी
आजाद पशुहरूकाे हुलमा
मानवीय नाताले हार्दिकतापूर्वक
महाआन्दोलन सफल पार्न
सरिक छु म मान्छे निरन्तर
निस्वार्थ एवम् बेपर्वाह
इतिहासकाे अर्को कालखण्ड
उदारतापूर्ण व्यवहार
घरमा पालिएकी गाैमाता
दुहुनो छउन्जेल खुब दुहेर
सडकमा आजात गरिदिने सर्तमा
मतलबको झण्डा फहराउँदै
समयसापेक्ष हिड्ने मान्छे म
देखावटी पाखण्डतामा विश्वास नगर्ने
सभ्य, सनातनी र धार्मिक मान्छे म
हरेक पितृ श्राद्ध र औशीमा
सडकमा बेहाल विचरा गाईलाई
अति आदर र भक्तिका साथ
सडक छेउमै गएर मसार मुसुर गर्दै
प्रेमपूर्वक ग्वानेक प्रसाद ग्रहण गराउँदै
याे कलियुगमा हराइरहेकाे
मानव धर्म जाेगाइरहेको छु म
पाखण्डपूर्ण व्यवहार त्याग गर्दै
कामधेनुकाे कामनाका साथ
हार्दिक अभिनन्दनकाे महायात्रामा
यात्रारत छु म मान्छे निरन्तर
निस्वार्थ एवम् बेपर्वाह


✍️ रमेश पन्त मीतबन्धु
महेन्द्रनगर, कञ्चनपुर
