महेन्द्रनगर । एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र गुट बनाउने खेलमा नलागेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले कञ्चनपुरले उद्योग बाणिज्य संघको सभा कक्षमा गरेको मिसन ग्रास रुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टी बलियो बनाउन गुट निर्माणमा लाग्न नहुनेमा जोड दिए ।
‘अहिले पार्टीलाई बलियो बनाउन छ, पार्टी बलियो बनाउन गुट निर्माणमा कसैले पनि लाग्नु हुँदैन, गुटले पार्टी बलियो हुन सक्दैन’ कार्यक्रममा उपाध्यक्ष पौडेलले भने,‘अहिले गुट निर्माण नगरी संगठन र पार्टी निर्माणलाई बलियो बनाउन सबैले लाग्नु पर्छ ।’
कार्यक्रममा उपाध्यक्ष पौडेलले आफू पार्टी स्थापनाकादेखि सुदूरपश्चिममा संगठन निर्माणमा गर्दै आएको उल्लेख गर्दै नेता कार्यकर्ताले सबै तिक्तता छाडेर पार्टीलाई बलियो बनाउनु पर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा सहभागी नेताहरुका अनुसार उपाध्यक्ष पौडेलले मन्तव्यमा नेता भीम रावलका बारेमा केही बोलेनन् । अछाममा भीम रावल समर्थक कार्यकर्ताले उनी विरुद्ध नाराबाजी गरेपछि केही दिन पौडेल र रावलबीच चर्काचर्की परेको थियो । नेता रावलले पौडेलले आफू अछाम आउने जानकारी समेत नगराएको भन्दै असन्तुष्टि पोखेपछि उनले अछाम आउन पासपोर्ट लिन नहुने भन्दै कटाक्ष गरेका थिए ।
उपाध्यक्ष पौडेल र रावलबीच पछिल्लो समय बढेको जुहारीलाई लिएर कार्यक्रममा पनि केही विषय उठ्ने सहभागीहरुको अपेक्षा थियो । कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सह इन्चार्ज कर्ण थापा बाहेक अन्य वक्ताले रावलको नाम समेत लिएन् ।
एमाले सुदूरपश्चिम प्रदेश सह इन्चार्ज थापाले भने नेता रावललाई पार्टीले व्यवस्थापन गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष पौडेल सहित सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतले मन्तव्य राखेका थिए ।
एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सबै पालिकाका इन्चार्जले ग्रास रुटको रिपोर्टिङ्ग गरेका छन् । विकल्प दैनिक बाट सभार









Discussion about this post