
दार्चुला। महाकाली नदीमा निर्मित अस्थायी तुइनबाट खसेर एक १० वर्षीय बालक बेपत्ता भएका छन्।
व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्। यसबारे प्रहरी र स्थानीयबासिन्दा समेत बेखबर रहेको पाइएको छ।

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गणेश भण्डारीले भने यसबारे कुनै जानकारी नआएको सीमारेखालाई बताए।

व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि गएका बालक तुइनबाट नदीमा खसेको खबर एक जना शिक्षकले आजै दिएको बताए।
‘खर काटन भारततिर जाने चलन छ,’ प्रवक्ता धामीले भने, ‘सय मिटर माथि झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन। त्यहीँबाट बालक खसेको जानकारी आएको छ।’
(simarekha.com बाट साभार)
