मेलौली नगरपालिकामा गएको मंगलबारदेखि गरिएको तालाबन्दी अझै खुलेको छैन् । वडा नं ७ का स्थानीयबासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।
यस्तै वडा नं १ का स्थानीयहरुले पनि वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग गरेका छन् । सो ठाउँमा अस्पताल निर्माणका लागि डीपीआर समेत भइसकेको उनीहरुको दाबी छ ।
गएको बिहीबार अस्पताल निर्माणकै बिषयलाई दुई पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका थिए । अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच हुन थालेपछि बिहीबारदेखि प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
यसैबीच मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले नगरपालिकामा गरिएको तालाबन्दी खोल्न आग्रह गरेका छन् । नगरपालिकामा आधारभूत अस्पताल निर्माणका बिषयमा देखिएको विवाद समाधानका लागि सरोकारवाला पक्षसंग छलफल भइरहेको बताउँदै नगर प्रमुख चन्दले तालाबन्दी खोली सेवा प्रवाहमा सहजता ल्याउन आग्रह गरेका छन् ।
दुवै पक्षका जग्गादाताहरुलाई अपनत्व महसुस हुने गरेर अस्पताल निर्माणको काम अघि बढ्ने समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । आपसी सहमति, सहकार्य र समन्वयका माध्यमबाट समस्या समाधान हुने उनले बताएका छन् ।
मेलौली नगरपालिकामा तालाबन्दी भएको एक हप्ता हुनै लाग्दा समेत नगर प्रमुख र उपप्रमुख भने काठमाण्डौंबाट फर्केका छैनन् ।
सगुन खबर बाट सभार