
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शुक्लाफाँटाको झलारीमा २४ औँ ईकाइगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्ययतामा संस्थाले होटल रमाईलो रेष्टुरेण्टमा आइतबार साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा नगर प्रमुख महराले कृषिलाई प्राथमिकता दिदै नगरपालिका अघि बढ्न खोजिरहेको चर्चा गर्दै यहाँका सहकारी संस्थाहरुसंग समेत सहकार्य गरेर आफुहरु अघि बढ्न चाहेको बताए । “नगरपालिकाले कृषिलाई प्राथमिकता दिदै अघि बढेको छ,पहिलेको तुलनामा पाँच गुणा बढी बजेट छुट्टयाएका छौँ,उनले भने, जनतालाई कृषिमा जोडेर आत्मनिर्भर बनाउने योजनाका साथ हामी अघि बढेका छौँ ।” सामुहिक रुपमा उद्यम गर्न चाहनेलाई आर्थिक अभाव हुन नदिने गरी नगरपालिकाले अग्रणी भूमिका खेल्ने उनको भनाई थियो ।
सहकारी संस्थामा आबद्ध सदस्यहरू एक बाहेक अन्य सहकारीमा समेत आबद्धता जनाउने क्रम बढेकाले यसो नगर्न शेयर सदस्यहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले आग्रह गरे । उनका अनुसार संस्थाले आफ्ना सदस्यहरुलाई मध्यनजर गर्दै कृषि उत्पादन कार्यमा जोड दिने उद्देश्यका साथ कस्टम हाइरिङ्ग सेन्टरको स्थापना गरिएको छ ।
कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगोस् भनेर तराईसँगै पहाडी जिल्ला डडेल्धुराको अमरगढी, बैतडीको पाटन र दशरथ चन्द नगरपालिकामा समेत संस्थाले शाखा विस्तार गरेको जनाएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको आयस्तर वृद्धि तथा आर्थिक हितका लागि आफूहरूले धितो र विना धितोमा समेत कर्जा प्रवाह अभियानलाई बढवा दिएको शाखा प्रबन्धक मेघराज भट्टले बताए ।
४ हजार १८ जना शेयर सदस्य रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था झलारी इकाईले १९ करोड १५ लाख ६९ हजार २०१ ऋण लगानीमा रहेको छ । यस्तै १३ करोड ९७ लाख ९१ हजार ७ सय ९३ बचत रहेको छ ।
२०७९ अषाढ सम्ममा संस्थाको कुल शेयर पुँजी १५ करोड ६२ लाख ३९ हजार २ सय रहेको छ । गत वर्ष भने संस्थाको शेयर पुँजी १२ करोड ८१ लाख ३१ हजार १ सय रहेको थियो। गत वर्षको तुलनामा २१.९३ प्रतिशतले शेयर पुँजी वृद्धि हो । संस्थामा हाल २७ हजार ६९७ जना सदस्य रहेका छन् । यस्तै संस्थाले सदस्यहरुको शेयर पुँजीलाई वृद्धि गर्दै आगामी ४ वर्षमा २५ करोड पुर्याउने लक्ष्य लिएको छ ।
हालसम्म ९ अर्ब ९३ करोड ८३ लाख ९९ हजार ४३९ पैसा ७२ निक्षेप सङ्कलन गरेको संस्थाले ८ अर्व ६२ करोड ९२ लाख ४२ हजार ६०१ पैसा ०६ बचत फिर्ता गरेको छ । हाल संस्थाको निक्षेप दायित्व १ अर्व ३० करोड ९१ लाख ५६ हजार ८ सय ३८ पैसा ६६ रहेको छ । जुन गत वर्षको तुलनामा झण्डै २२.१७ प्रतिशतले वृद्धि भएको छ ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले हालसम्म ९ खर्व ७ करोड ८२ लाख ८४ हजार ५० लगानी गरेको छ भने, ७ खर्व ५२ करोड ६१ लाख ३५ हजार २६३ पैसा २३ असुली गरी १ अर्ब ५५ करोड २१ लाख ४९ हजार ६२० पैसा २७ ऋण लगानीमा रहेको छ । जुन गत वर्षको तुलनामा झण्डै २९.४२ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा कुल २५ करोड ८२ लाख ८० हजार ८३० पैसा ७१ आम्दानी गरी विभिन्न शीर्षकमा खर्च गरेर ७ करोड २१ लाख ११ हजार २०१ पैसा ३६ शुद्ध मुनाफा गरेको छ । जुन गत वर्षको तुलनामा झण्डै २५.६४ प्रतिशतले वृद्धि हो । संस्थाले सभामा यस आर्थिक वर्ष २०७९÷८० का लागि ५ अर्ब २२ करोड १७ लाख ६३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
संस्थाले गत वर्ष मात्रै नेपाल सरकारलाई १ करोड २२ लाख ७६ हजार ५ सय ७० रुपैयाँ कर बुझाएको संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा देखाइएको छ । संस्थाले सामाजिक क्षेत्रमा गत वर्ष १६ लाख २९ हजार रुपैयाँ खर्च गरेको अध्यक्ष चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका सदस्यहरुलाई अझ सहज र सरल बनाउन प्रविधिमैत्रीको विकास गरी छिट्टै नै एटीएम कार्डको व्यवस्था गरिने संस्थाका शाखा प्रबन्धक मेघराज भट्टले बताए ।
संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । संस्थाका सञ्चालक समिति सदस्य शंकरदत्त भट्टले स्वागत मन्तव्य संगै लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले गर्नुभएको थियो ।
उत्कृष्ट जेष्ठ नागरिक बचत तथा व्यवसायीलाई सम्मान
यसैगरी ईकाइगत साधारण सभामा संस्थाले उत्कृष्ट जेष्ठ नागरिक बचत तथा व्यवसायीलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकतर्फ सम्मानित हुनेहरुमा शुक्लाफाँटा १ बन्शाहकी मानमती देवी जोशी,लालझाडी ५ देखतभुलीकी सुना देवी बोहरा,शुक्लाफाँटा ८ भमरभोजकी पार्वती जोशी रहेका छन् । उनीहरुलाई दोसल्ला,प्रमाणपत्र संगै केही नगद रकम प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट व्यवसायीहरुमा शुक्लाफाँटा ३ जोनापुरकी सुनिता डगौरा,लालझाडी ५ देखतभुलीकी सुनिता बराल ऐर र शुक्लाफाँटा ७ जुडाकी गौरी भट्ट रहेका छन् । उनीहरुलाई दोसल्ला,प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट बचतकर्ता शुक्लाफाँटा १० झलारीका बिर सिंह ठगुन्ना र उत्कृष्ट बाल बचतकर्ता अस्मीन राना समेत दोसल्ला,प्रमाणपत्र सहित सम्मानित भएका छन् । ईकाइगत साधारण सभा पश्चात् आगामी कार्तिक १९ गते संस्थाले महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा साधारण सभा गर्दैछ । सेतीकाली एक्सप्रेस
