काठमाडौं । म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। आक्रमणमा बालबालिकासहित सर्वसाधारण नागरिक मारिएका छन् भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
अल जजिराका अनुसार उत्तरपूर्वी म्यानमारको मोए बाय क्षेत्रमा शनिबार एक विवाह समारोहलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा २१ जनाको ज्यान गएको हो।
त्यस्तै, पश्चिमी राखाइन राज्यको म्राउक–यू सहरस्थित एक बजारमा गरिएको हवाई आक्रमणमा थप नौ जनाको मृत्यु भएको छ।
यसअघि म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी) ले मध्य म्यानमारको माग्वे क्षेत्रमा विद्यालय र बौद्ध गुम्बालाई केन्द्र बनाएर गरिएको बम तथा ड्रोन आक्रमणमा थप २९ जनाको मृत्यु भएको जनाएको थियो।
सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा गृहयुद्ध जारी छ। द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका अनुसार म्यानमारको द्वन्द्वमा अहिलेसम्म सबै पक्षका गरी एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
यसैबीच, म्यानमारमा हिंसा जारी रहेकै बेला अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा भएको सैन्य कारबाहीसँग सम्बन्धित नरसंहारको मुद्दा अघि बढिरहेको छ। नोभेम्बर १९ मा यस विषयमा फैसला सुनाइएको भन्ने विवरणसमेत सार्वजनिक भएको छ।










Discussion about this post