जगन्नाथ आत्रेय, महेन्द्रनगर
मानव समाजमा सामाजिक-सास्कृतिक समबन्धको एउटा पक्ष काल/समय व्यबस्था पनि हो।काल आफैमा एक बहुअर्थि शब्द हो । काल अर्थात समय कति महत्वपूर्ण छ ।भनिन्छ, ” काल सृजति भूतानि कालः संहरते प्रजा:” । मानवजीवनको व्यवस्थापन तथा सामाजिक सास्कृतिक व्यवहार निर्वहनमा काल गणनाको अविच्छिन्न सम्बन्ध छ। यसको सोझो सम्बन्ध ज्योतिर्विज्ञानसित जोडिन्छ। भारतवर्षमा जोतिषी विज्ञानको वैज्ञानिकता अकाट्य छ। यो वेदाङ्ग हो र प्रत्यक्ष शास्त्र हो ।यो वेदको आँखा हो “ज्योतिषाम् नयनम् चक्षु “। विश्व ब्रह्माण्ड,प्रकृति तथा मानव जीवन सापेक्ष ज्योतिषी काल गणनाको धर्म, परम्परा एवम् समुदाय आश्रित रीतिथितिसंग अन्योन्याश्रीत सम्बन्ध रहि आएको छ। प्राचिन ॠषिमुनि तथा विद्वानहरूले खोज गरेको ज्ञान विज्ञान बिभिन्न ग्रन्थहरूमा संकलित छ भने पुर्विय खोजको क्रमलाई वर्तमानमा फरक धारले छोप्दै गयेको भये पनि बिगतको गौरवपूर्ण इतिहास बिर्सन सकिदैन। यसै सन्दर्भमा काल गणना र तत्सम्बन्धी व्यापक एवम् गहन सिद्धान्त मान्यता रहेका छन ति मध्ये केही व्यबहारिक मान्यताहरूको विवेचन गर्ने प्रयास यहाँ गरिएको छ।
” नित्यो जन्यस्य कालौ द्वौ तवाद्यः परमेश्वरौ।
सोऽवाङमनसगम्योऽपि देही भक्तानुकम्पया।।”
आदि अन्त्यहिन, जो निरन्तर चलि रहन्छ त्यो नित्य समय/काल हो। यहि नित्य ब्रह्म स्वरूप काललाईमानव कर्मोपयोगि बिभाजन जन्य काल हो।
काल अर्थात् समयलाई पूर्वीय दर्शनले सुक्ष्म रूप परमाणु देखि व्यापक युग मन्वन्तर कल्प सम्मको मान्यता स्थापित छ। गणनात्मक प्रयोजन र प्रयोग परकताका आधारमा स्थूल (मूर्तकाल)र सूक्ष्म (अमूर्त काल)गरि बिभाजन गरिन्छ। समयको सूक्ष्म रूप गणना मा कठिनाई भयेकाले स्थूलकाल व्यवहारमा प्रयोग गरिन्छ। कालगणनाको सूक्ष्म एकाइहरू प्राचिनकालमै ज्योतिर्विदहरूले परमाणु, अणु, त्रसरेणु, त्रुटि , प्राण, बेध, लव, निमेष, विपल, क्षण, काष्टा, दण्ड , मुहुर्त, घटि,प्रहर, जस्ता एकाइ निर्धारण गरेको पाइन्छ। आधुनिक विज्ञानमा यस्तै एकाइ हरू मिलि सेकेण्ड, माइक्रो सेकेन्ड, नैनो सेकेण्ड जस्ता नाम दिएको पाइन्छ। व्यबहारमा पल ,घटि, दिन, पक्ष, मास, ॠतु, अयन वर्ष जस्ता कालगणना मान उपयोग गरिन्छन। आधुनिक मान्यतामा सेकेण्ड मिनट घण्टाको व्यापक प्रचलन छ तापनि ज्योतिषी विज्ञानले कैयौ सुक्ष्म भन्दापनि सुक्ष्म एकाइ स्थापित गरेको छ। पलक झिम्किन लाग्ने समय निमेष हो भने कालको सुक्ष्मतम अवस्था परमाणु भनिएको छ। स्थुलकालका सम्बन्धमा भनिएको छ; – ” तत्र कालः षड् विध -वत्सरः, अयनम्, ॠतु: , मास: , पक्षो दिवस इति। वत्सरः पञ्चधा: – चान्द्र: , सौर: , सावन: , नाक्षत्रो बार्हस्पत्य इति।–धर्मसिन्धु: ।
जन्यकाललाई वर्ष, अयन, ॠतु महिना र पक्षमा बिभाजन गरिन्छ भने वर्ष ५प्रकारका छन– चान्द्र, सौर, सावन, नक्षत्र, बार्हस्पत्य। यसै अनुसार महिना पनि मानिन्छन। चन्द्रमान अनुसार शुक्लपक्षको प्रतिपदा देखि गणाना गर्दा औसी सम्मको एक महिना चान्द्रमास भनिन्छ। १२चन्द्रमास अर्थात ३५४ दिनको एक चान्द्रवर्ष हो। मेष देखि मीन राशी सम्म सूर्यको भोगकाल एक वर्ष ३६५दिनको एक सौर वर्ष हो भने एक राशीमा सूर्य रहने अवधि १सौरमास भनिन्छ।सावन मास३०दिनको र सावन वर्ष ३६०दिनको हुन्छ।
नक्षत्रहरू (२७)को १२मास भोगकाल जम्मा ३२४दिनको हुन्छ भने बृहस्पतिको एक राशीमा रहने समय ३६१दिन बार्हस्पत्य वर्ष भनिन्छ। धार्मिक सास्कृतिक कर्महरूमा चान्द्रमान र अन्य ब्यवहारिक कृत्यहरूमा सौरमानलाई नै आधार मानेर गर्नु पर्छ भन्ने शास्त्रीय कथन रहेकोले हाम्रो समाजिक जीवन पद्धति त्यै अनुसार चलि आएको छ।
कालगणना र समय व्यवस्थाको संयोजित रूप पञ्चाङ्ग हो। हाम्रो स्थापित मान्यता अनुसार तिथि, वार, नक्षत्र,योग र करण यि ५ पञ्चाङ्गका मूख्य अंग हुन भने यिनको निरन्तर परिभ्रमणकाल संगै ग्रहगति तथा राशीगत अवस्था नै पञ्चाङ्गमा समाबेस हुन्छ। यिनकै अवस्थागत आधारमा व्यवहारिक कृत्य कर्महरूको समय निर्धारण गरिन्छन।
आधुनिकताको नाउँमा हाम्रा परम्परागत खोज, मूल्य मान्यता छाडदै जाने प्रवृतिका पछाडि नक्कलिपना हावि हुदै गये पनि पुर्विय खोजकै अनुकरण गरिएका पाश्चात्य कुराहरू पछि हामी दौडि रहेको परिप्रेक्ष्यमा हाम्रो कालगणनाका सबै कुराहरू पछाडि बलिया तर्क र कारण छन। आधुनिक पद्धतिको एक दिन अर्थात २४घण्टा भनेको ६०घडी (अहोरात्र)हो त्यो नै एक बार पनि हो। कम्तिमा पनि ५हजार वर्ष पुरानो अथर्ववेद ज्योतिषले सात बारहरूको नामाकरण गरेको छ–” आदित्यः सोम भौमश्च तथा वुध बृहस्पति:। भार्गव: शनैश्चरश्चैते एते सप्त दिनाधिपः ।।”अहिले यसैको रूपान्तरित अंग्रेजीबारको प्रचलन बढदै छ। सूर्यलाई सौरमण्डलको अधिपति मान्दै अन्तरिक्षमा ग्रहहरूको रहने क्रम- सूर्य , बुध , शुक्र , पृथ्वी , मंगल , गुरू र शनिको क्रम नै बार निर्धारणको क्रम हो। एक दिन भनेको एक सूर्योदय देखि अर्को सूर्योदय बिचको साठि घडि अर्थात अहोरात्रको समय हो अर्थात २४ होराको एक दिन हुन्छ । मध्यरातबाट अर्को दिन मान्ने प्रथा ग्रिगोरियन क्यालेण्डरको हो। यहाँ निर क्यालेण्डर र पञ्चाङ्ग एउटै कुरा पनि होइनन भन्ने पनि बुझ्नु पर्दछ।
” चैत्रेमासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि।
शुक्लपक्षे समग्रे तत्तदा सूर्योदये सति।
प्रवर्तयामास तदा कालस्य गणनामपि।
ग्रहान्नागानृतून्मासान् वत्सरान्वत्सराधिपान् ।।
—–ब्रह्मपुराण
चैत्रशुक्ल प्रतिपदालाई सृष्टीको आधार दिन मानेर सूर्य प्रथम दिनको मालिक रबिवार त्यसपछि क्रमैले सूर्योदयकालको होराको मालिकका नामबाट त्यस दिनको बार रहने प्रणालि स्थापित भयेर आइत,सोम मंगल बुध विहि शुक्र शनिबारको क्रम सिर्जना भयेको हो । यसै गरि चान्द्रमान अनुसार चैत शुक्ल प्रतिपदाबाट सम्वत सुरू हुने र सौरमान अनुसार सूर्य मेष राशीमा प्रवेश गर्ने विशुवत्बाट बर्ष सुरू हुन्छ। नक्षत्रहरूको नामबाट १२ महिनाका नामाकरण गरिएका छन ।यस चैत महिना पुर्णिमा परेको नक्षत्र चित्राबाट चैत, यसै गरि बिसाखाबाट बैसाख, ज्येष्टाबाट जेठ, पूर्वाषाढा आषाढ, श्रवण श्रावण, पूर्वाभाद्रपदाबाट भाद्र, अश्विनि आश्विन, कृतिका कार्तिक, मृर्गशिरा मार्गशिर्ष, पुष्यबाट पौष, मघाबाट माघ र पूर्वाफाल्गुनिबाट फाल्गुन महिना नामाकरण गरिएका हुन ।सम्बन्धित महिनाका नामहरू मधु माधव आदि वैदिक नामाकरण पनि पाइन्छ। यहाँ निर सौर र चान्द्रवर्षको ११को अन्तर समायोजन गर्न मलमास या अधिक मासको व्यवस्था छ। हरेक ३२महिना १६दिन ४घडि(१घडि =२४मिनेट) पछि चन्द्र मासको अधिक महिना पर्दछ।
सूर्यको गति र ढल्काइका आधारमा २ओटा अयन तथा चन्द्रमाको गतिका आधारमा २ओटा पक्ष निर्धारण भयेका छन, पृथ्वीमा सबैभन्दा बढी प्रभाव रहने यी दुबैका आधारमा बार्षिक समय व्यबस्थापन र गणना गर्ने पद्धति अकाट्य छ। भारतवर्षको ज्योतिषीय काल गणना विधिको प्रभाव हिजरि र ग्रिगोरियन क्यालेण्डरमा रहेको छ। हाम्रो पद्धतिमा ॠतुका आधारमा वर्षलाई छ ऋतुमा बाडने कुरा एकातिर प्राकृतिक मौसम तथा परिवर्तन संगै सौर्यमण्डलका गतिविधि सापेक्ष निर्धारण गरिएको छ। व्यवहारिक रूपमा सावन, नक्षत्र एवम् बार्हस्पत्य वर्ष त्यति उपयोगमा नभये पनि ज्योतिषीय गणनामा यसको आफ्नै महत्व छ।









Discussion about this post