
बैतडीको डिलाशैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी र शिक्षकको करार अवधि नथप्ने भएको छ । गाउँपालिकाले २०७८ पुस यता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकहरुलाई साउन १ गतेदेखि काममा नआउन भनेको छ ।
अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकहरुलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाहरुको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । कति कर्मचारी र शिक्षक नियुक्त भएका छन् भन्ने यकिन तथ्यांक नै नरहेको उनको भनाई छ ।


श्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा ७७ लाख रुपैंया अपुग भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकहरुको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको गाउँपालिका अध्यक्ष जोशीले बताए । कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउने र सोही अनुसार करारका कर्मचारीहरुको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए ।
गाउँपालिकाले दरबन्दीका कर्मचारीहरु लोक सेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने बताए । सगुन खबर बाट सभार
