नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओलीले पाएको जनमतको अपमान गरेर संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर १० ले कीर्तिपुरमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले गठबन्धन कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिन समयको माग र आवश्यकताका आधारमा निर्माण भएको स्पष्ट पारेका हुन्।
स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने विषयमा कार्यकर्ता, शुभचिन्तकको सुझावका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धारणा ल्याउने उनले जानकारी दिए। असंवैधानिक कदम र आफ्नो असक्षमता लुकाउन केपी ओलीले अनावश्यक हल्ला चलाएको भन्दै त्यसको पछि नलागी जनताको घर घरमा पुगेर बास्तविकता बुझाउन उनले कार्यकर्तालाई आग्रह गरे।
मुलुकमा संकट पर्दा कांग्रेसको काँधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेसले कुशलतापूर्वक नेतृत्व गरेर देखाएको उनको भनाइ छ।
अरुजस्तो सत्ता हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा गरेर जनतालाई भ्रममा राख्ने काम कांग्रेसले नगर्ने भन्दै देश र जनताको हित हुने कुरामा सत्तामा हुँदा वा प्रतिपक्षमा रहँदा कांग्रेस आफ्नो बोलीमा पक्का रहेको उनले स्मरण गराए।
कांग्रेस अरु दलजस्तो गैरजिम्मेवार बन्न नसक्ने भन्दै लोकतन्त्रका लागि आजसम्म कांग्रेसले खेलेको भूमिका, जनता र मुलुको हितमा कांग्रेसको अडान लिएर जनतामा जान उनले निर्देशन दिए।
सिंहले कम्युनिस्टहरु भ्रमको खेती गर्न सिपालु छन् भन्दै कांग्रेसका जनप्रतिनिधि र कांग्रेसको अगुवाइमा भएका कामका बारेमा प्रचार प्रसार गरेर कांग्रेसको पक्षमा मत माग्नसमेत कार्यकर्तालाई निर्देशन दिए। सार्वजनिक रुपमा उठेका हरेक सवालमा कांग्रेस बारे स्वस्थ सवाल जवाफमा उत्रिन आग्रह गरे।
नेता सिंहले विगतका अनुभवबाट पाठ सिकेर यसपटक समयमा नै विधिसम्मत रुपमा उम्मेदवार तय गरेर पार्टी अघि बढ्ने जानकारी गराए।
उनले कांग्रेसका पक्षमा चुनावी माहोल निर्माण गर्नसमेत निर्देशन दिए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post