स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचन निर्धारित समय वैशाख ३० मै हुनेमा ढुक्क हुन आग्रह गरे।
फरक प्रसंगमा उनले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहने केन्द्रीय समितिले निर्णय गर्ने बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने उनले बताए।
नेपाली कांग्रेस चुनावमा गठबन्धनसँगै या एक्लै लड्ने भन्ने विषय ब्यक्तिले भन्दा पनि पार्टीको केन्द्रीय समितिको सुझावअनुसार गठबन्धन गर्ने÷नगर्ने टुङ्गो लाग्ने शर्माले बताए। स्थानीय तहको निर्वाचनमा केन्द्रमा गठबन्धन गर्ने÷नगर्ने टुङ्गो नभए पनि जिल्ला र स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन हुनसक्ने महामन्त्री शर्माको भनाइ थियो।
स्थानीय तहको निर्वाचन लक्षित गरेर कांग्रेसले ’घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाइरहेको बताए। केन्द्रले गठबन्धन गरे पनि जिल्लामा आफू अनुकूल चुनाव लड्ने निर्णय जिल्लाले नै गर्ने उनको भनाइ छ। कांग्रेसले पार्टी नयाँ ढंगको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको उनले बताए।
कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरुद्ध खोप लगाउन सफल भएको दाबीसमेत महामन्त्री शर्माले गरे। उनले अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गरे। आउँदो स्थानीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो।
नेपालमा अन्य पार्टीको तुलनामा देश र जनताको पक्षमा राम्रा कामहरू कांग्रेसले गरेकाले उसकै पक्षमा बहुमत आउने दाबी शर्माले गरे। कांग्रेस आफैँले सरकारमा रहेर विभिन्न समयमा गरेका चुनावमा बहुमत ल्याएको उदाहरण दिँदै उनले फेरि पनि कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनैै शंका नरहेको बताए। थाहा खबर बाट सभार









Discussion about this post